जेनजी आन्दोलनका बेला फरार भएका दुई जना पक्राउ, एक सिन्धुपाल्चोकका

जनतापत्र,सिन्धुपाल्चोक ।
जेनजी आन्दोलनका क्रममा कारागार तथा अदालत परिसरबाट फरार भएका दुई जनालाई प्रहरीले पुनः पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाका ३० वर्षीय नुमेश वाइबा र खोटाङको बराहपोखरी गाउँपालिकाका ४१ वर्षीय नवराज लुईँटेल रहेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० का प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी शिवकुमार श्रेष्ठका अनुसार वाइबालाई जबर्जस्ती करणी मुद्दामा र लुईँटेललाई सरकारी कागज, छाप तथा दस्तखत कीर्ते गरेको अभियोगमा पक्राउ गरिएको हो।


प्रहरीका अनुसार जेनजी आन्दोलनको क्रममा वाइबा काठमाडौंस्थित केन्द्रीय कारागार सुन्धाराबाट फरार भएका थिए भने लुईँटेल जिल्ला अदालत काठमाडौं परिसरबाट भागेका थिए। फरार दुवै जनाको खोजी कार्य तीव्र बनाएको प्रहरीले विशेष सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ।
ब्युरोका अनुसार वाइबालाई काठमाडौंको स्वयम्भु क्षेत्रबाट र लुईँटेललाई वसुन्धराबाट पक्राउ गरिएको हो। पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाउन सम्बन्धित निकायमा पठाइएको प्रहरीले जनाएको छ।

२९ फाल्गुन २०८२, शुक्रबार १३:३१