/*php the_title();*/?>


आइसिँ तामाङ,जुगल गाउँपालिका ।
सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा नेकपा माओवादी केन्द्र का स्थानीय कार्यकर्ताले चन्दा संकलनमार्फत सहिद प्रतिष्ठान भवनका लागि जग्गा खरिद गरेका छन्। गाउँ कमिटीको नेतृत्वमा पटक–पटक गरी जम्मा ६ लाख रुपैयाँ संकलन गरेको छ ।
यसअघि भवन निर्माणका लागि संघीय सरकारले २० लाख र वाग्मति प्रदेश सरकारले ४५ लाख, गरी कुल ६५ लाख रुपैयाँको बजेट स्वीकृत गरेको थियो। सो बजेट र स्थानीयको योगदानको संयोजनमा करिब तीन वर्षको अवधिमा दुई तला आधाको पक्की संरचना निर्माण सम्पन्न भएको हो।
भवन गाउँपालिका कार्यालय नजिकै बनेको छ, जसको उद्घाटन हालै सम्पन्न भएको छ। यहाँ सहिद प्रतिष्ठान मात्र नभई माओवादी केन्द्रको पार्टी कार्यालयसमेत सञ्चालनमा आउनेछ।
गाउँपालिका अध्यक्ष रेशम स्याङबोका अनुसार, यो भवन जनयुद्धमा शहादत प्राप्त पाँच सहिदको स्मृतिमा पनि समर्पित हुनेछ। यसैका लागि चन्दा संकलनमार्फत सहिदका शालिक निर्माण गर्ने तयारी सुरु भइसकेको छ र आउँदो हिउँदमा उद्घाटन गर्ने लक्ष्य राखिएको छ।
स्थानीय बासिन्दाले यो परियोजना जनस्तरको योगदान, सरकारी सहयोग र सहिदप्रतिको सम्मानको उदाहरण भएको बताएका छन्। सहिदको सपना, योगदान र बलिदानलाई भावी पुस्तामा स्मरण गराउने स्थायी थलो अब गाउँमै तयार हुने भएको छ।
३० श्रावण २०८२, बिहीबार ०९:३२