/*php the_title();*/?>


आइसिँ तामाङ,चौतारा सिन्धुपाल्चोक ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले २०८१÷८२ को वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै अपराध नियन्त्रण, जनचेतना र कानुनी कारबाहीका क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरेको जनाएको छ।
गएको वर्ष जिल्लाभर विभिन्न खाले २६४ आपराधिक मुद्दा दर्ता भएका थिए। तीमध्ये आत्महत्या, जबर्जस्ती करणी, लागुऔषध कारोबार, ज्यान सम्बन्धी कुकर्मलगायतका गम्भीर अपराध प्रमुख रहेका छन्।
विशेषगरी, ११ वर्षीया बालिकामाथि बलात्कारपछि हत्या, वृद्ध नागरिकमाथि बन्चरो प्रहार गरी ज्यान लिएको, र महिलालाई बलात्कार उद्योगपछि नदीमा फालेकोजस्ता क्रूर घटनाहरूको सफल अनुसन्धान गरी अभियुक्तहरूलाई अदालतमा पेस गरिएको प्रहरीले जनाएको छ।
यसैबीच, १३९ जना फरार प्रतिवादीलाई पक्राउ गरी ४६ वर्ष १० महिना २९ दिनको कैद सजाय र ४ करोड ६२ लाख रुपैयाँभन्दा बढी जरिवाना असुल गरिएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ।
लागुऔषध कारोबारमा संलग्न समूहहरूविरुद्ध ७ रोपनी क्षेत्रमा फैलिएको गाजाको खेती फडानी गरी ७७० वटा बोट नष्ट गरिएको जनाइएको छ।
जनस्तरमा प्रहरीको पहुँच बढाउने उद्देश्यले आत्महत्या रोकथाम, लैंगिक हिंसा, बाल यौनदुरुपयोग र सडक सुरक्षालगायतका विषयमा ४८८ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएका छन्। ती कार्यक्रमबाट १५ हजारभन्दा बढी नागरिक लाभान्वित भएका छन्।
यस्तै, ट्राफिक चेकिङबाट मात्रै ४१ लाखभन्दा बढी राजस्व संकलन गरिएको छ भने सवारी दुर्घटना न्यूनीकरणका लागि २८ सयभन्दा बढी सचेतना कार्यक्रम सञ्चालन गरिएको छ।
प्राकृतिक विपत्तिका घटनामा पनि प्रहरीले उल्लेखनीय सक्रियता देखाएको छ। बाढी, पहिरो, आगलागी, चट्याङ, करेन्टलगायतका ९७ घटनामा करिब ४४ करोडभन्दा बढीको सम्पत्ति नोक्सानी भएको प्रहरीको प्रतिवेदनमा उल्लेख छ।
गत आर्थिक वर्षमा ११७ पटक ख्ख्क्ष्ए÷ख्क्ष्ए भ्रमण भएको र सो क्रममा ४८७ सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिइएको छ।
सिन्धुपाल्चोक प्रहरीको यो वार्षिक प्रतिवेदनले जिल्लामा सुरक्षा व्यवस्थापन र कानुनी कारबाही सुदृढ भइरहेको स्पष्ट संकेत दिएको छ।
२ श्रावण २०८२, बिहीबार १७:५५