/*php the_title();*/?>

जनतापत्र,सिन्धुपाल्चोक ।
जिल्ला कृषि सहकारी संघ, सिन्धुपाल्चोकको पाँचौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले मित्रलाल चौलागाईंको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मतरूपमा चयन गरेको छ। नवनिर्वाचित कार्यसमितिमा उपाध्यक्ष होमनाथ चौलागाईं, सचिव रामशरण गिरी र कोषाध्यक्ष कृष्णप्रसाद पराजुली चयन भएका छन्। त्यस्तै सदस्यहरूमा संगिता अर्याल, नारायण गिरी, दीपककुमार लामिछाने, कमलप्रसाद दुलाल र बाबुराम प्यौड्याल चयन भएका छन्।

अधिवेशनले लेखा समितिको संयोजकमा रामबहादुर लामा तथा सदस्यहरूमा सोनाम लामा र कल्पना दुलाल चयन गरेको तपचुली सामुदायिक कृषि सहकारीका अध्यक्ष मदन थापाले जानकारी दिनुभयो। बागमती प्रदेश सहकारी संघका सञ्चालक कृष्ण सुवेदीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नवनिर्वाचित अध्यक्ष चौलागाईंले कृषि सहकारीलाई किसानमैत्री, पारदर्शी र उत्पादनमुखी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले उत्पादन लागत घटाउने, बजार सुनिश्चित गर्ने र सहकारीलाई व्यवसायिक तथा आत्मनिर्भर बनाउने गरी संघ अघि बढ्ने बताउनुभयो।
कार्यक्रमका प्रमुख अतिथि सुवेदीले कृषि सहकारी स्थानीय अर्थतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै किसानलाई प्रविधि, तालिम र बजारसँग जोड्न सहकारी महत्वपूर्ण माध्यम भएको धारणा व्यक्त गर्नुभयो। अधिवेशनले आगामी कार्यकालमा कृषि उत्पादन वृद्धि, सहकारीबीच समन्वय, क्षमता विकास कार्यक्रम सञ्चालन तथा किसानको जीवनस्तर सुधारलाई मुख्य कार्यदिशा बनाउने निर्णय समेत गरेको छ।
२८ पुष २०८२, सोमबार १८:२८