जागेस्वरी टार खानेपानी उपभोक्ता समितिको चौथो साधारणसभा सम्पन्न

जनतापत्र,मेलम्ची सिन्धुपाल्चोक ।
जागेस्वरी टार खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको चौथो साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ। समितिका अध्यक्ष मनोरथ दुलालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ प्रमुख अतिथि तथा उपप्रमुख उमा प्रधान विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा बोल्दै नगरप्रमुख तामाङले खानेपानी नागरिक जीवनसँग जोडिएको अत्यावश्यक सेवा भएको बताउनुभयो। दीर्घकालीन रूपमा समस्या समाधान गर्न नगरपालिकाले आवश्यक बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गर्दै मेलम्ची बजार र टार क्षेत्रको विकासले नगरका अन्य वडामा समेत सकारात्मक प्रभाव पर्ने धारणा राख्नुभयो। उपप्रमुख उमा प्रधानले जागेस्वरी टार क्षेत्रमा खानेपानी व्यवस्थापनका लागि समितिले निरन्तर गरेको प्रयास प्रशंसनीय रहेको उल्लेख गर्नुभयो।

समितिको कामलाई थप प्रभावकारी बनाउन नगरपालिकाबाट आवश्यक सहयोग हुने उहाँको भनाइ थियो।
वडा नम्बर ११ का अध्यक्ष चन्द्रबहादुर तामाङले खानेपानी तथा सरसफाइलाई वडाको प्राथमिकतामा राखेर उपभोक्ता समिति र नगरपालिकासँग समन्वय गर्दै अघि बढ्ने बताउनुभयो। साधारणसभामा समितिको वार्षिक प्रगति प्रतिवेदन र आर्थिक विवरण प्रस्तुत गरिएको थियो भने आगामी योजना र नीतिगत विषयमा छलफल गरिएको थियो। अधिवेशनले पुनः मनोरथ दुलालकै अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।

१९ पुष २०८२, शनिबार १९:२८