/*php the_title();*/?>

जनतापत्र, सिन्धुपाल्चोक ।
“जैविक खेती पद्धतिको अनुशरण– स्थानीय उत्पादनको संरक्षण, प्रबर्द्धन र बजारीकरण” भन्ने मूल नारासहित पाल्चोकमा पाल्चोकी माइ कृषक हाट बजार सुरु गरिएको छ। पाल्चोकी माइ मन्दिर दर्शन गर्न आउने भक्तजनलाई लक्षित गरी हेलम्बु गाउँपालिका, मन्दिर व्यवस्थापन समितिको समन्वय तथा जस्ट नेपाल फाउन्डेसनको सहयोगमा स्थानीय उत्पादनलाई बजारसम्म पुर्याउने उद्देश्यले शनिबारदेखि हाट बजार सञ्चालनमा ल्याइएको हो। यस हाट बजारमा स्थानीय किसानले उत्पादन गरेका शुद्ध अर्गानिक कृषि उपज बिचौलिया बिना नै सिधै उपभोक्तासमक्ष बिक्री गर्न पाएका छन्।

काउली, मुला, सागसब्जी, सुन्तला, किबी, फर्सी, लप्सी, सिस्नु, सिमी, सिलाम, कागती, गहत, मकै, जौ, फापरको पिठो, हरियो सिमी, एबोकाडो, स्कुस, सिन्की, अमला, खोलेसागलगायत विविध कृषि उपज हाट बजारमा राखिएको थियो।
दर्शनका लागि बाहिरबाट आउने भक्तजनलाई आफ्नै उत्पादन बेच्न पाउँदा किसानहरू उत्साहित देखिएका छन्। हाट बजार व्यवस्थापन समिति संयोजक गोपाल गिरीले यस पहलले स्थानीय उत्पादनलाई उचित बजार दिलाउने र किसानको आयआर्जनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो। हेलम्बु गाउँपालिकाकै पहिलो कृषक हाट बजारका रूपमा सुरु गरिएको यो बजारलाई निरन्तर सञ्चालन गर्ने योजना रहेको छ। हाट बजार हरेक शनिबार बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुनेछ। सुरुवातमै किसानहरूको उल्लेख्य सहभागिता देखिनु हाट बजारको सकारात्मक संकेतका रूपमा लिइएको छ।
१९ पुष २०८२, शनिबार १८:४९