जहाज दुर्घटनामा मृत्यु भएकाका परिवारले अब १ लाख डलर पाउने

काठमाडौं । आन्तरिक जहाज दुर्घटनामा ज्यान गुमाउने यात्रुका परिवारले अब बीमा बापत क्षतिपूर्ति पाउने रकम १ लाख अमेरिकी डलर हुने भएको छ । यहिले मृतकका परिवारले २० हजार डलर मात्रै पाउने गरेका छन् ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले ‘हवाई यातायात सेवा सञ्चालन संस्थाको दायित्व तथा बीमा व्यवस्था गर्ने विधेयक’ तर्जुमा गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई सैद्धान्तिक सहमति प्रदान गरेको छ ।

यो विधेयकमा आन्तरिक तर्फका जहाज दुर्घटनामा ज्यान गुमाउने यात्रुको परिवारले पाउने क्षतिपूर्ति रकम १ लाख डलर पुर्‍याउने गरी प्रस्ताव गरिँदैछ ।

सरकारले यो विधेयक बनाउन २०७७ चैतमा एक कार्यदल गठन गरेको थियो । कार्यदलको नेतृत्वमा सहसचिव लामिछाने तोकिएका थिए । उक्त कार्यदलले मस्यौदा तयार पारे पनि प्रक्रिया अगाडि बढेको थिएन ।
वायुसेवा सञ्चालन संस्थाको यात्रु, ब्यागेज र कार्गो सम्बन्धी दायित्वभित्र टिकट जारी गर्ने, निर्धारित मिति र समयमा सुरक्षित यात्रा गराउनुपर्छ ।

निर्धारित समयमा उडान रद्द वा स्थगन भए कम्तीमा तीन घण्टा अगाडि नै यात्रुलाई जानकारी गराउनुपर्ने व्यवस्था यस विधेयकमा हुनेछ । तीन घण्टा अगाडि उचित कारण देखाएर भएको उडानमा वायुसेवा कम्पनीलाई कुनै जरिवाना लाग्ने छैन ।

यात्रा क्रममा बोर्डिङ चेक गरेपछि वायुयानभित्र जाने क्रमका प्रक्रिया वा यात्रा अवधिभरि वायुयान भित्र रहँदा वा वायुयानबाट उत्रिने प्रक्रियामा कुनै दुर्घटना भई चोटपटक लागे वा मृत्यु भए सम्बन्धित वायुसेवा संस्थाले क्षतिपूर्ति बापत १ लाख अमेरिकी डलर बेहोर्नुपर्ने यस विधेयकको प्रावधान छ ।

जहाज दुर्घटनामा घटनास्थलमै यात्रुको मृत्यु भएसमेत सोही रकम बराबर क्षतिपूर्ति मृतकको नजिकको हकवालालाई उपलब्ध गराउनुपर्ने छ । दुर्घटनामा घाइते वा अंगभंग भए सम्बन्धित वायुसेवा कम्पनीले उपचार गर्नुपर्ने छ । वायुसेवा कम्पनीले ऐनमा तोकिएको रकमभन्दा कम हुन नहुने गरी आफ्नो दायित्व सीमा तोक्न नपाउने समेत विधेयकको मस्यौदामा उल्लेख छ ।

यात्रुको लापरबाहीबाट यात्रुलाई चोटपटक लागे वा यात्रुलाई पहिलेदेखिकै गम्भीर रोगका कारण जहाजमा मृत्यु भएमा भने क्षतिपूर्ति दायित्व भर्न वायुसेवा कम्पनी बाध्य हुने छैन । दुर्घटना भएको मितिले ३० दिनभित्र वायुसेवा सञ्चालन संस्थामा क्षतिपूर्ति रकम दाबी गर्नुपर्ने गरी नियम बनाइँदै छ ।

२९ फाल्गुन २०८०, मंगलवार १६:२२