/*php the_title();*/?>

जनतापत्र, हेटौंडा, — बागमती प्रदेशसभाका सदस्य भारती पाठकले बागमती प्रदेश सरकारले नीति, योजना तथा कार्यक्रम बनाउँदा जलवायु परिवर्तन र वायु प्रदूषणप्रति विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभएको छ।

प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै सांसद पाठकले अहिलेको जलवायु परिवर्तन र वायु प्रदूषणका कारण हिमाल, पहाड र तराई मिलेर बनेको बागमती प्रदेशमा दिनप्रतिदिन समस्या बढिरहेको उल्लेख गर्नुभयो। उहाँले प्रदेश सरकारले बजेट निर्माणको तयारी गरिरहँदा वातावरणीय संकटलाई दृष्टिगत गर्दै योजनाहरू बनाइनुपर्नेमा जोड दिनुभयो।
उहाँले भन्नुभयो, “हाम्रो दैनिक जीवनमा श्वासप्रश्वासमा प्रत्यक्ष असर पारिरहेको जलवायु संकटलाई नीति निर्माणमा प्राथमिकतामा राख्नुपर्छ। हाम्रा योजना त बनिरहेका छन् तर ती कार्यान्वयनमा कति प्रभावकारी छन् भन्ने प्रश्न उठेको छ।”
पाठकले आगामी नीति तथा कार्यक्रम र बजेटले जलवायु न्याय र वातावरणीय संरक्षण सुनिश्चित गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले यही जेठ २३ गते मनाइने अन्तर्राष्ट्रिय वातावरण दिवसको अवसरमा ‘प्लास्टिक निर्मूल’ भन्ने नारालाई बागमती प्रदेशका प्रत्येक पालिकाको अभियानका रूपमा कार्यान्वयनमा ल्याउनुपर्ने सुझाव दिनुभयो।

“जबसम्म नीति, कार्यक्रम र बजेट कार्यान्वयनको चरणमा पुग्दैन, तबसम्म यसको सदुपयोग हुँदैन,” उहाँले भन्नुभयो ।
८ जेष्ठ २०८२, बुधबार १४:५९