जबरजस्ती करणी मुद्दामा मिलापत्र गराउन खोज्ने ७ जना पक्राउ

जनतापत्र,सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोक जिल्ला प्रहरीले जबरजस्ती करणी मुद्दामा मिलापत्र गराउने प्रयासमा संलग्न सात जनालाई पक्राउ गरेको छ।
पीडित तथा उनका परिवारलाई मिलापत्र गराउने नाममा दबाब दिँदै आर्थिक लेनदेन गरेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ। पक्राउ पर्नेहरूमा जुगल गाउँपालिका–२ का ४५ वर्षीय श्रीकाजी दोङ, ५५ वर्षीय माइला दोङ, २४ वर्षीय सुशील दोङ, ४२ वर्षीय मिङमार दोङ, ३१ वर्षीय विशाल तामाङ, ३२ वर्षीय नेत्र दोङ र ५८ वर्षीय ङेमा छिरिङ लामा रहेका छन्। प्रहरीका अनुसार उनीहरूले पीडित पक्षलाई धम्की, दबाब र प्रभावमा पार्दै कानुनविपरीत रकम असुल्न खोजेको सूचनाका आधारमा प्रहरी टोलीले नियन्त्रणमा लिएको हो। हाल उनीहरूलाई हिरासतमा राखी थप अनुसन्धान अघि बढाइएको छ। जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षकले जानकारी दिएका छन्। उनीहरूविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा १२७ ९क० अनुसार मिलापत्र गराउन नहुने कसुरमा अनुसन्धान भइरहेको छ। प्रहरीले उनीहरूबाट नगद ५ लाख १६ हजार ३२ रुपैयाँ, विभिन्न बैंकका चेकहरू तथा ७ थान मोबाइल फोन समेत बरामद गरेको जनाएको छ। यस्ता घटनामा संलग्न भई मिलापत्रको बहानामा रकम असुल्ने तथा दबाब दिने कार्य कानुनविपरीत भएकाले कडा कारबाही गरिने प्रहरीले चेतावनी दिएको छ।

२१ चैत्र २०८२, शनिबार १७:४६