जन्मोत्सव दानबाट थाङपालधाप माविका २२ विद्यार्थीलाई छात्रवृत्ति

आइसिँ तामाङ,पाँचपोखरी सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङपाल(६ स्थित श्री थाङपालधाप माविमा सम्पन्न अन्तर सदनात्मक सामूहिक नृत्य प्रतियोगिताको अवसरमा २२ जना जेहेन्दार र आर्थिक रूपमा कमजोर विद्यार्थीलाई जन्मोत्सव दानबाट छात्रवृत्ति प्रदान गरिएको छ। शिक्षक नविन श्रेष्ठबाट सुरु भएको जन्मदिनमा दान गर्ने अभ्यासलाई विद्यालयले निरन्तरता दिँदै यसपालि रु। ४१,३२४ संकलन गरिएको हो। संकलित रकमबाट छात्रवृत्ति दिइएको र बाँकी राशी ‘जन्मोत्सव कोष’ मा राखिएको विद्यालयले जनाएको छ। नृत्य प्रतियोगितामा सिनियर र जुनियर दुवै समूहमा एलो हाउस पहिलो, रेड दोस्रो र ब्लु तेस्रो भएका छन्। कार्यक्रममा शिक्षक नविन श्रेष्ठलाई सम्मान गरिएको थियो भने सञ्चालन शिक्षक राजन काफ्लेले गर्नुभएको थियो।

९ असार २०८२, सोमबार २०:४०