/*php the_title();*/?>

सुनिता रखाल,साँगाचोक ।
“समुदायको सपना, शिक्षाको यात्रा स् जनविकासका ५० वर्ष” भन्ने मूल नाराका साथ जनविकास माध्यमिक विद्यालयको गौरवमय ५० औँ वर्ष तथा स्वर्ण जयन्ती मूल समारोह सोमबार भव्य रूपमा सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि भौतिक पूर्वाधार विकास मन्त्रालयका पूर्वमन्त्री युवराज दुलालले विद्यालयको स्वर्ण जयन्ती स्मारिका विमोचन गर्दै विद्यालयको ५० वर्षे शैक्षिक यात्रालाई ऐतिहासिक उपलब्धि भएको बताउनुभयो । उहाँले शिक्षा क्षेत्रमा सुधार ल्याउन कामको आधारमा मूल्याङ्कन आवश्यक रहेको उल्लेख गर्दै राम्रो कार्य गर्नेहरूलाई प्रोत्साहन र कमजोरी गर्नेलाई सुधारतर्फ उत्प्रेरित गर्नुपर्नेमा जोड दिनुभयो । विद्यालय सुधार्ने जिम्मेवारी राज्य, समुदाय र अभिभावक सबैको साझा दायित्व भएको उहाँको भनाइ थियो ।
कार्यक्रमकी विशेष अतिथि चौतारा साँगाचोकगढी नगरपालिकाकी उपप्रमुख सीता थापाले विद्यालयले शैक्षिक, भौतिक, खेलकुद तथा अतिरिक्त क्रियाकलापमा गरेको प्रगतिको प्रशंसा गर्नुभयो । उहाँले नगरपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै सबै विद्यालयलाई समान रूपमा सहयोग गर्दै आएको बताउनुभयो ।
समारोहमा विद्यालयका शिक्षक, कर्मचारी तथा विभिन्न सहयोगदातालाई सम्मान गरिएको थियो । कार्यालय सहायक मन्दिरा पराजुली, बालबालिका सहजकर्ता चण्डिका खनाल, शिक्षक गोकर्णराज गिरीलाई सम्मान गरिएको हो । यसैगरी प्रधान नेपाल डायल समुदायको सहयोगमा गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको थियो । खेलकुद सामग्रीका लागि श्रीकृष्ण गिरी र कैलाश गिरीले जर्सी सहयोग गरेका थिए । साथै निर्मला पराजुली साहित्यिक कोषबाट दुई जना छात्रालाई छात्रवृत्ति प्रदान गरिएको छ ।
निर्मला पराजुली साहित्यिक कोषका अध्यक्ष पदमप्रसाद पराजुलीका अनुसार २०५३ सालमा स्थापना भएदेखि हालसम्म जनविकास माध्यमिक विद्यालयसहित विभिन्न विद्यालयका ३० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ । विद्यालयमा तारा गिरी अक्षयकोष, निर्मला पराजुली साहित्यिक कोष तथा ज्येष्ठ नागरिक अक्षयकोषलगायतका कोषहरू सञ्चालनमा रहेका छन् ।
कार्यक्रममा सशस्त्र प्रहरी १६ नं गण बन्देउका सशस्त्र प्रहरी नायब उपरीक्षक नन्दराज राई, चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ११ का वडा अध्यक्ष रोशनराज गिरी, सामाजिक विकास समितिका संयोजक रामप्रसाद गौतम, सिन्धुपाल्चोक जिल्ला भूमि आयोगका पूर्व अध्यक्ष झम्क पराजुली, नेपाल कम्युनिस्ट पार्टीका जिल्ला संयोजक गोविन्दप्रसाद पराजुली, जुगल बहुमुखी क्याम्पस प्रमुख पदमप्रसाद पराजुलीलगायतको उपस्थिति रहेको थियो ।
समारोहमा विद्यार्थीहरूले सांस्कृतिक नृत्य प्रस्तुतिका साथै “पढ्दै, सिक्दै, कमाउँदै” अवधारणाअन्तर्गत खाद्य स्टल सञ्चालन गरेका थिए । मःम, पकौडा, जेरी, पानीपुरी, चटपटे, केकलगायत परिकार राखिएको स्टल प्रमुख अतिथि तथा अतिथिहरूले अवलोकन गर्दै विद्यार्थीले तयार पारेका परिकार खरिद गरी प्रोत्साहन दिएका थिए ।
प्रमुख अतिथि दुलालले पानसमा दीप प्रज्वलन गरी कार्यक्रम उद्घाटन गर्नुभएको थियो । शिक्षक, विद्यार्थी, अभिभावक तथा शिक्षाप्रेमीहरूको उल्लेखनीय सहभागितासहित विविध कार्यक्रमका साथ समारोह सम्पन्न भएको हो ।
कार्यक्रमको समापन गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेशप्रसाद आचार्यले विद्यालयको ऐतिहासिक अवसरमा उपस्थित भई कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण अतिथि, अभिभावक तथा शुभेच्छुकप्रति हार्दिक आभार व्यक्त गर्नुभयो ।
२३ पुष २०८२, बुधबार ०७:२२