चौसागढी वडा नम्बर ७ मा शेरबहादुरलाई भव्य स्वागत, विपक्षीको गृह वडामै एमालेको उत्साहजनक माहोल

जनतापत्र,सिन्धुपाल्चोक
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै शेरबहादुर तामाङलाई चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ७ मा भव्य स्वागत गरिएको छ। प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत विभिन्न स्थानीय तहमा मतदाता भेटघाट तथा घरदैलो कार्यक्रम सम्पन्न गर्दै चौतारा प्रवेश गरेका तामाङलाई वडा नम्बर ७ का मतदाताले न्यानो माया, उत्साह र समर्थनका साथ स्वागत गरेका हुन्। स्थानीय स्तरमै देखिएको सहभागिता र उत्साहले निर्वाचन माहोल थप तातेको छ।

उल्लेखनीय कुरा के छ भने, सो वडा यसै निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी नेकपा का उम्मेदवार युवराज दुलालको गृह वडा हो। साथै, २०७९ सालको स्थानीय तह निर्वाचनमा यहाँ नेपाली कांग्रेस का उम्मेदवार विजयी भएका थिए। विपक्षी उम्मेदवारको गृह वडामै एमाले उम्मेदवार तामाङप्रति देखिएको जनसमर्थनलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।
एमाले निर्वाचन प्रचारप्रसार समितिका अनुसार, कांग्रेसबाट उम्मेदवार बनेका बहालवाला वडा अध्यक्ष समेत तामाङप्रति सकारात्मक देखिएकाले आफ्नो पक्षमा अनुकूल वातावरण निर्माण भएको दाबी गरिएको छ। उम्मेदवार तामाङले क्षेत्र नम्बर २ भर नै जनलहर आफ्नो पक्षमा देखिएको दाबी गर्दै निर्वाचन जित्ने आधार तयार भइसकेको बताएका छन्। हाल उनी चौतारा साँगाचोकगढी नगरपालिकाका विभिन्न गाउँ–बस्तीमा घरदैलो कार्यक्रम तथा मतदाता भेटघाटमा सक्रिय छन्। राजनीतिक समीकरण र स्थानीय समर्थनको यो अवस्थाले क्षेत्र नम्बर २ को प्रतिस्पर्धा थप रोचक बन्दै गएको देखिन्छ।

११ फाल्गुन २०८२, सोमबार २०:१५