चौतारा साँगाचोकगढी–२ बतासे मा तरकारी उत्पादन तथा अचार बनाउने तालिम सुरु

जनतापत्र,सिन्धुपाल्चोक ।
चौतारा साँगाचोकगढी नगरपालिका–२ बतासे मा गोलभेडा, काउली लगायत विभिन्न तरकारी उत्पादन तथा अचार बनाउने तालिमको उद्घाटन गरिएको छ। स्थानीय कृषि उत्पादन प्रवर्द्धन तथा आयआर्जनका अवसर विस्तार गर्ने उद्देश्यले आयोजना गरिएको उक्त तालिम चैत्र २२ गतेदेखि बैशाख ३ गतेसम्म सञ्चालन हुने जनाइएको छ। कार्यक्रममा वडा नं। २ का वडा अध्यक्ष सुदीप श्रेष्ठ, नेत्रज्योति सहकारी संस्था का अध्यक्ष, जनप्रतिनिधि, सञ्चारकर्मी, सहकारीका प्रतिनिधि तथा स्थानीय बासिन्दाहरूको उल्लेख्य उपस्थिति रहेको थियो। सहभागीहरूले तालिमले स्थानीय स्तरमै उत्पादन हुने गोलभेडा, काउली, करेला, आलु लगायतका कृषि उपजको सदुपयोग तथा बजारिकरणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।


विशेषगरी उत्पादन भएको तरकारी तथा फलफूल खेर जान नदिई त्यसलाई प्रशोधन गरी अचार लगायतका परिकारमा रूपान्तरण गरेर आम्दानी वृद्धि गर्ने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिएको हो। यसले स्थानीय किसानलाई सीपमूलक ज्ञान प्रदान गर्नुका साथै आत्मनिर्भरता अभिवृद्धिमा टेवा पुग्ने अपेक्षा गरिएको छ।
कार्यक्रमको आयोजना नेत्रज्योति सहकारी संस्था ले गरेको हो भने सहयोग चौतारा साँगाचोकगढी नगरपालिका ले गरेको जनाइएको छ।

२२ चैत्र २०८२, आईतवार २०:४६