चौतारा साँगाचोकगढी नगरपालिका–३ खालेमा २८६२ औँ सोनाम ल्होछार भव्य रूपमा सम्पन्न

आईसिँ तामाङ,सिन्धुपाल्चोक ।
चौतारा साँगाचोकगढी नगरपालिका–३, खाले मा तामाङ समुदायको महान् पर्व २८६२ औँ सोनाम ल्होछार ता ल्हो अर्थात घोडा वर्गको अवसरमा शुभकामना आदानप्रदान तथा बृहत् सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि वडा नं. ३ का वडाध्यक्ष टेकबहादुर तामाङ रहनुभएको थियो भने सभा अध्यक्षता रामबहादुर तामाङले गर्नुभएको थियो।


कार्यक्रममा सञ्चारकर्मी, गाउँका ताम्बा–बोम्बो, बुद्धिजीवी, समाजसेवी, शिक्षक लगायत स्थानीय व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो। तामाङ समुदायको बहुल्यत्व रहेको खालेमा आफ्ना धर्म, संस्कार, संस्कृति र पहिचान संरक्षण गर्ने मुख्य उद्देश्यका साथ सोनाम ल्होछार उल्लासपूर्वक मनाइएको हो। वक्ताहरूले तामाङ भाषा, भेषभूषा, परम्परा र मौलिक संस्कृतिको जगेर्ना गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिएका थिए।

कार्यक्रमको अवसरमा वडा नं. ३ कार्यालयले आयोजक खाले उपभोक्ता समितिलाई गाउँमा विहे ब्रतबन्दको प्रयोगका लागि महारानी कुर्सी दुई थान, डम्फु पाँच सेट तथा छ्याङ्तेर वितरण गरेको छ।
साथै विभिन्न आमन्त्रित तथा स्थानीय कलाकारहरूले डम्फुको तालसँगै सांस्कृतिक नृत्य–संगीत प्रस्तुत गरी कार्यक्रमलाई थप आकर्षक बनाएका थिए। कार्यक्रम उत्साह, एकता र सांस्कृतिक गर्वका साथ सम्पन्न भएको आयोजकले जनाएको छ।

२ फाल्गुन २०८२, शनिबार २०:२५