चौतारा साँगाचोकगढी नगरपालिका, न्यायिक समितिद्वारा ‘सिकाई तथा सफलता’ नामक पुस्तक प्रकाशन


संगिता बुढाथोकी, सिन्धुपाल्चोक ।
चौतारा साँगाचोकगढी नगरपालिका, न्यायिक समितिद्वारा ‘सिकाई तथा सफलता’ नामक पुस्तक प्रकाशन गरी एक विशेष समारोहमार्फत सार्वजनिक गरेको छ। उक्त पुस्तक विमोचन वाग्मती प्रदेशकी पूर्व मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यद्वारा गरिएको हो।

पुस्तकमा नगरपालिकाको न्यायिक समितिद्वारा प्राप्त गरिएका अनुभव, सिकाइ र सफलताको विवरण, साथै न्यायिक प्रक्रियाहरू, अधिकार क्षेत्र, मेलमिलापको कार्यविधि र त्यसमा संलग्न अभियन्ताहरूका विचारहरू समावेश गरिएका छन्। न्यायिक समितिको कार्यदिशा र विधिको व्यवहारिक पक्षबारे विस्तृत जानकारी दिइएको पुस्तकलाई पूर्व मुख्यमन्त्री शाक्यले “एक सुन्दर दस्तावेज” को रूपमा वर्णन गर्दै भनिन्, “पुस्तकमा उल्लेख विषयवस्तु गहिरो छ, यसको अध्ययन गरी व्यवहारमा लागू गर्न सक्नुपर्छ।”

कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिकाका उपप्रमुख तथा न्यायिक समितिका संयोजक सिता थापाले पुस्तक प्रकाशनको प्रेरणा शाक्यबाट प्राप्त भएको बताउँदै, नागरिकसम्म न्यायिक क्रियाकलाप पुर्‍याउने उद्देश्यले पुस्तक प्रकाशित गरिएको जानकारी दिइन्। उनले पुस्तक प्रकाशनमा सहयोग पुर्‍याउने नेपाल पत्रकार महासंघका सचिवसहित जनतापत्र साप्ताहिकको टोलीलाई धन्यवाद प्रकट गरिन्।

यसै अवसरमा लैङ्गिक समानता, जातीय विभेदको अन्त्य र समावेशी समाज निर्माणका लागि विशेष सम्मान कार्यक्रम पनि सम्पन्न भयो। न्यायिक समितिको पहलमा आयोजित कार्यक्रममा अन्तरजातीय विवाह गरेका २३ जोडीलाई नगद ८ हजार रुपैयाँ, दोसल्ला र सम्मानपत्रसहित सम्मान गरिएको थियो।

उपप्रमुख थापाका अनुसार, “फरक समुदायबीच प्रेम, सहिष्णुता र सामाजिक समरसता कायम राख्दै विवाह गर्ने जोडीलाई प्रोत्साहन दिन यो सम्मान प्रदान गरिएको हो।”

त्यस्तै, सरकारी सेवामा प्रवेश गरेका तीन जना अपाङ्गता भएका कर्मचारीहरू, साथै स्नातकोत्तर तहसम्म अध्ययन पूरा गरेका ५६ जना छोरी तथा बुहारीहरूलाई पनि सार्वजनिक रूपमा सम्मान गरिएको थियो।

नगरपालिकाले न्यायिक प्रणालीलाई स्थानीय स्तरमा प्रभावकारी ढंगले कार्यान्वयन गर्दै सामाजिक न्याय, मेलमिलाप र समावेशीता प्रवर्द्धनमा सक्रिय भूमिका खेलेको कार्यक्रमले देखाएको छ।

१५ असार २०८२, आईतवार ०५:४४