चौतारा साँगाचोकगढीमा वडास्तरबाट निःशुल्क स्वास्थ्य शिविरको सुरुआत

जनतापत्र, सिन्धुपाल्चोक – चौतारा साँगाचोकगढी नगरपालिका भित्र स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले वडा नम्बर १ बाट निःशुल्क स्वास्थ्य शिविर सञ्चालनको सुरुआत गरिएको छ। जेष्ठ नागरिकलाई लक्षित फिजियोथेरापी सेवा तथा महिलाका लागि पाठेघरको मुखको क्यान्सरसम्बन्धी प्रारम्भिक जाँच (VIA) सहितको शिविर शनिबार वडा कार्यालय भवनमा सम्पन्न भएको हो।

नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा भएको शिविर जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा हाडजोर्नी र नसासम्बन्धी समस्या भएका नागरिकलाई लक्षित गरिएको थियो। नगर स्वास्थ्य शाखा प्रमुख दिनेश नेपालका अनुसार नगरभर प्रारम्भिक तथ्यांकअनुसार करिब ५ सय ३७ जनालाई फिजियोथेरापी आवश्यक देखिएकाले सबैलाई एकैपटक केन्द्रमा बोलाउन सम्भव नभएपछि वडास्तरमै चरणबद्ध रूपमा स्क्रिनिङ र शिविर सञ्चालन थालिएको हो। पहिचान भएका सेवाग्राहीलाई नियमित रूपमा निःशुल्क फिजियोथेरापी सेवा उपलब्ध गराइने उनले जानकारी दिए।

वडा नम्बर १ मा प्रारम्भिक रूपमा ६९ जनालाई फिजियोथेरापी आवश्यक देखिएको थियो। शिविरमा ५१ जनाले सेवा लिएका थिए भने करिब ४७ जनाको स्क्रिनिङ गर्दा १८ जनालाई नियमित फिजियोथेरापी आवश्यक पर्ने निष्कर्ष निकालिएको छ। त्यस्तै, करिब १० महिलाले पाठेघरको मुखको क्यान्सरसम्बन्धी प्रारम्भिक जाँच (VIA) गराएका थिए, जसमा कसैमा पनि गम्भीर समस्या नदेखिएको स्वास्थ्य चौकी इन्चार्ज अभिषेक गिरीले जानकारी दिए।

चालु आर्थिक वर्षमा नगरपालिकाले जेष्ठ नागरिक क्लिनिकका लागि करिब ३१ लाख रुपैयाँ, फिजियोथेरापी सेवाका लागि १० लाख रुपैयाँ र स्वास्थ्य शिविर सञ्चालनका लागि ६ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। घरआँगनमै स्वास्थ्य सेवा पाउँदा सेवाग्राहीहरू सन्तुष्ट देखिए पनि जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिका लागि लाठी, ह्विलचेयर, बैसाखी र वाकरजस्ता सहायक सामग्रीको अभाव अझै चुनौतीका रूपमा रहेको स्थानीयको भनाइ छ।

वडा नम्बर १ बाट सुरु गरिएको यो कार्यक्रम क्रमशः नगरका १४ वटै वडामा सञ्चालन गरिने नगरपालिकाले जनाएको छ। सबै वडामा स्क्रिनिङ सम्पन्न भएपछि नगरपालिकाको कार्यालय र साँगाचोकलाई केन्द्र बनाएर नियमित तथा निःशुल्क फिजियोथेरापी सेवा उपलब्ध गराइने नगर प्रमुख कृष्णप्रसाद सापकोटाले बताए। स्थानीय तहको पहलमा सञ्चालन भएको यस्तो निःशुल्क स्वास्थ्य शिविरले सेवा पहुँचबाट टाढा रहेका नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ।

२९ मंसिर २०८२, आईतवार ११:५३