/*php the_title();*/?>

जनतापत्र,चौतारा सिन्धुपाल्चोक ।
नागरिकको दृष्टि स्वास्थ्य संरक्षण गर्ने उद्देश्यले चौतारा साँगाचोकगढी नगरपालिकाले निःशुल्क आँखा जाँच तथा उपचार अभियानको सुरुवात गरेको छ। मोतिविन्दुका कारण हुने अन्धोपन न्यूनीकरण गर्ने लक्ष्यसहित सञ्चालन गरिएको अभियान सोमबार वडा नम्बर १ स्याउलेबाट औपचारिक रूपमा प्रारम्भ गरिएको हो।अभियानको पहिलो दिन ८३ जना नगरवासीले आँखा परीक्षण सेवा लिएका छन्। परीक्षण गराउनेमध्ये ३६ जना पुरुष र ४७ जना महिला रहेका छन्। स्वास्थ्य शाखाका अनुसार परीक्षणका क्रममा ६ जनामा मोतिविन्दु देखिएको छ, जसमा ३ पुरुष र ३ महिला छन्। साथै २४ जनालाई चश्मा आवश्यक पर्ने निष्कर्ष निकालिएको छ।

नगरपालिकाले परीक्षणमै सीमित नरही आवश्यक उपचारको व्यवस्थासमेत मिलाएको जनाएको छ। चश्मा परीक्षण तथा वितरण सेवाले आर्थिक रूपमा कमजोर र दुर्गम क्षेत्रका नागरिकलाई प्रत्यक्ष लाभ पुगेको छ। नगर स्वास्थ्य शाखा प्रमुख दिनेश नेपालका अनुसार मोतिविन्दु पुष्टि भएका सेवाग्राहीको चौतारामै शल्यक्रिया गरिनेछ। यसका लागि आगामी पुस २० र २१ गते विशेष शल्यक्रिया शिविर सञ्चालन गर्ने तयारी गरिएको उनले जानकारी दिए।नगरपालिकाले यो अभियानलाई चरणबद्ध रूपमा नगरका सबै १४ वडामा विस्तार गर्ने योजना बनाएको छ। स्थानीय तहमै उपचार सेवा उपलब्ध हुँदा नागरिकले समय, खर्च र अनावश्यक झन्झटबाट राहत पाउने विश्वास नगरपालिकाले व्यक्त गरेको छ।
७ पुष २०८२, सोमबार २१:२४