चौतारा साँगाचोकगढीमा आठौँ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु

जनतापत्र, सिन्धुपाल्चोक ।
चौतारा साँगाचोकगढी नगरपालिकाको आयोजनामा आठौँ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ वडा नम्बर १२ साँगाचोकमा सुरु भएको छ । प्रतियोगिता पुस १४ गतेदेखि १६ गतेसम्म सञ्चालन हुनेछ । नगरभित्रका २३ विद्यालयको सहभागिता रहेको प्रतियोगितामा एथलेटिक्स, कराते, तेक्वान्दो, भलिबल, कबड्डी र उसु विधाका खेलहरू समावेश छन् । उद्घाटन समारोहमा बागमती प्रदेशसभा सदस्य युवराज दुलालले खेलकुदले विद्यार्थीको शारीरिक तथा मानसिक विकासका साथै अनुशासन र नेतृत्व क्षमता अभिवृद्धि गर्ने बताउनुभयो ।

नगरप्रमुख कृष्णप्रसाद सापकोटाले विद्यालय तहबाट खेल संस्कृतिको विकासका लागि नगरपालिकाले निरन्तर लगानी गर्दै आएको उल्लेख गर्नुभयो । उपप्रमुख सीता थापाले खेलकुदले विद्यार्थीमा आत्मविश्वास र प्रतिस्पर्धात्मक भावना विकास गर्ने धारणा राख्नुभयो । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यालयलाई नगद पुरस्कारसहित पदक, ट्रफी, शिल्ड र प्रमाणपत्र प्रदान गरिनेछ ।

१५ पुष २०८२, मंगलवार १२:१६