चौतारा बहुमुखी क्याम्पसमा ‘क्याम्पस कर्णिका’ भित्तेपत्रिका प्रकाशन सुरु

आईसिँ तामाङ ,सिन्धुपाल्चोक ।
चौतारा बहुमुखी क्याम्पसको अतिरिक्त क्रियाकलाप विभागको आयोजनामा क्याम्पसको शैक्षिक उन्नयन र विद्यार्थीहरूको अन्तरनिहित बौद्धिक क्षमतालाई प्रस्फुटन गराउने उद्देश्यसहित ‘क्याम्पस कर्णिका’ नामक भित्तेपत्रिका प्रकाशन सुरु गरिएको छ। क्याम्पस प्रशासनका अनुसार विद्यार्थीहरूमा लेखन, सिर्जनशीलता, तर्कशक्ति र अभिव्यक्ति क्षमताको विकास गर्ने लक्ष्यका साथ यो भित्तेपत्रिका प्रकाशन गरिएको हो।

भित्तेपत्रिकामार्फत विद्यार्थीहरूले आफ्ना विचार, अनुभव, सिर्जनात्मक लेख, कविता, निबन्ध, समसामयिक विषयमा टिप्पणी तथा शैक्षिक सामग्रीहरू सार्वजनिक रूपमा प्रस्तुत गर्न पाउनेछन्। यसले विद्यार्थीहरूलाई पढाइसँगै अतिरिक्त क्रियाकलापमा पनि सक्रिय बनाउने विश्वास क्याम्पसले लिएको छ। अतिरिक्त क्रियाकलाप विभागले ‘क्याम्पस कर्णिका’ लाई अब हरेक महिना नियमित रूपमा प्रकाशन गर्ने निर्णय गरेको जनाएको छ।

मासिक रूपमा प्रकाशन हुँदा विद्यार्थीहरूलाई निरन्तर लेखन अभ्यास गर्ने अवसर मिल्ने र क्याम्पसभित्र बौद्धिक बहस तथा सिर्जनशील गतिविधि थप सशक्त बन्ने अपेक्षा गरिएको छ। क्याम्पसका शिक्षक तथा कर्मचारीहरूले पनि भित्तेपत्रिकामार्फत विद्यार्थीहरूको प्रतिभा उजागर हुने, नेतृत्व क्षमता विकास हुने र शैक्षिक वातावरण अझ सक्रिय र प्रेरणादायी बन्ने बताएका छन्। यस्ता कार्यक्रमहरूले क्याम्पसलाई केवल पठन–पाठनको केन्द्र मात्र नभई सिर्जनशीलता र विचार आदान–प्रदानको थलो बनाउने विश्वास व्यक्त गरिएको छ। क्याम्पस कर्णिका’ को नियमित प्रकाशनले चौतारा बहुमुखी क्याम्पसमा शैक्षिक गतिविधि थप गतिशील हुने र विद्यार्थीहरूलाई आफ्नो क्षमता पहिचान गरी अघि बढ्न प्रेरणा मिल्ने अपेक्षा गरिएको छ।

१९ माघ २०८२, आईतवार १८:३९