चौतारा अस्पतालमा ‘स्वर्गीय सीतामाया,गोपीलाल स्मृति स्वास्थ्य अक्षय कोष’ स्थापना गर्ने घोषणा

जनतापत्र,सिन्धुपाल्चोक ।
चौतारा साँगाचोकगढी नगरपालिका–५ निवासी स्वर्गीय सीतामाया नापितको दोस्रो वार्षिक पुण्यतिथिको अवसरमा चौतारा अस्पतालमा स्वास्थ्य अक्षय कोष स्थापना गर्ने घोषणा गरिएको छ। स्वर्गीय सीतामाया नापितले तत्कालीन चौतारा जिल्ला अस्पताल (हाल प्रदेश मातहतको चौतारा अस्पताल) मा करिब ३५ वर्षसम्म निरन्तर सेवा गर्दै सिन्धुपाल्चोकको स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएकी थिइन्। आमाको योगदानलाई चिरस्मरणीय बनाउने उद्देश्यसहित तथा स्वर्गीय बुवा गोपीलाल नापित (कृषि विकास बैंकका अवकाशप्राप्त कर्मचारी) को बैंक तथा वित्तीय क्षेत्रमा रहेको योगदानको सम्मान गर्दै परिवारले चौतारा अस्पतालमा दुई लाख रुपैयाँ बराबरको ‘स्वर्गीय सीतामाया÷गोपीलाल स्मृति स्वास्थ्य अक्षय कोष’ स्थापना गर्ने घोषणा गरेको हो।

कोषको मूलधन नछुने गरी वार्षिक ब्याजबाट गरिब, असहाय तथा उपचारमा पहुँच नपुगेका बिरामीलाई सहयोग गर्ने उद्देश्य राखिएको छ। अक्षय कोषको यथाशीघ्र कार्यान्वयनका लागि परिवारले अस्पताल सञ्चालन तथा व्यवस्थापन समिति र मेडिकल सुपरिटेन्डेन्टसमक्ष औपचारिक अनुरोधसमेत गरेको छ। घोषणापत्र नेपाल पत्रकार महासंघका पदाधिकारी तथा पत्रकारहरूको उपस्थितिमा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केशव राज गिरी र मेडिकल सुपरिटेन्डेन्ट डा. रूद्र भण्डारीलाई वरिष्ठ पत्रकार सुरेश कसजूको हातबाट हस्तान्तरण गरिएको हो। अक्षय कोष घोषणाकर्ता बिमला÷सुरेन्द्र महर्जन, कमला÷ललितप्रसाद श्रेष्ठ, शर्मिला (सरु काली)÷रमेश श्रेष्ठ तथा पार्वती नापितप्रति धन्यवाद व्यक्त गर्दै अध्यक्ष गिरीले यस कोषले अभावका बीच पनि गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन ।

२ पुष २०८२, बुधबार १७:४४