चौतारामा मिनि रंगशाला निर्माण पुनः सुरु

जनतापत्र,सिन्धुपाल्चोक, चौतारा ।
चौतारामा निर्माणाधीन मिनि रंगशालाको काम पुनः अगाडि बढेको छ। बागमती प्रदेश सरकारको लगानीमा भइरहेको यस आयोजना असार मसान्तभित्र सक्ने योजना राखिएको छ। करिब चार वर्षअघि सुरु भएको रंगशाला तोकिएको समयमा पूरा नभएपछि ठेक्का रद्द भएको थियो। पछि खरिद नियमावली संशोधनमार्फत अलपत्र परियोजनालाई थप समय दिने व्यवस्था भएपछि यस कार्यलाई निरन्तरता मिलेको हो। २०७७ असार २३ गते सुरु भएको परियोजना १८ महिनामा सक्ने भनिए पनि पटक–पटक म्याद थप्दा समेत २०८० चैतभित्र पूरा हुन सकेन। अहिलेसम्म करिब आधा मात्र काम भएको छ।
सामाजिक विकास कार्यालय, धुलिखेलका इन्जिनियर कुशुम भट्टराईका अनुसार प्यारापिट ढलान, मैदानको पानी निकास, ग्राभेल र बालुवा फिलिङ, सर्भिस लेन, टिकट घर, फ्लडलाइट तथा डिजिटल बोर्ड जडानजस्ता काम बाँकी छन्। यसैबीच, निर्माण व्यवसायीहरूले अघिल्लो चरणमा गरिएको करिब दुई करोड रुपैयाँ बराबरको कामको भुक्तानी अझै पाउन बाँकी रहेको बताएका छन्।

३१ भाद्र २०८२, मंगलवार १०:०९