/*php the_title();*/?>


सुनिता रखाल चौतारा ।
सिन्धपाल्चोकको, चौतारामा विद्यालयस्तरमा हुने लैङ्गिक हिंसा तथा बालबालिकासम्बन्धी विषयमा जिम्मेवार पत्रकारिताबारे दुई दिने तालिम सम्पन्न भएको छ। नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाको आयोजनामा र टुकी एसोसिएसन सुनकोशीको प्राविधिक सहयोगमा साउन ३१ गतेदेखि भदौ १ गतेसम्म उक्त तालिम सञ्चालन गरिएको हो।
तालिममा सहभागी पत्रकारलाई बालबालिकाको अधिकार र सुरक्षालाई प्राथमिकता दिने, विद्यालयमा हुने लैङ्गिक हिंसाबारे संवेदनशील तरिकाले समाचार लेख्ने तथा पत्रकारितामा नैतिकता कायम गर्ने विषयमा प्रशिक्षण दिइएको थियो। साथै, केस स्टडी प्रस्तुत गर्ने, समाचारको प्रभाव मूल्याङ्कन गर्ने र नीतिगत वकालतमा पत्रकारको भूमिका के हुन सक्छ भन्नेबारे पनि व्यावहारिक अभ्यास गरिएको आयोजकले जनाएका छन्।
कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख कृष्णप्रसाद सापकोटाले विद्यालयमा हुने लैङ्गिक हिंसा रोकथाममा जिम्मेवार पत्रकारिता अपरिहार्य रहेको उल्लेख गर्दै समाज सुधारमा सञ्चारकर्मीको योगदान महत्वपूर्ण हुने बताएका थिए।
त्यसैगरी, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष धर्मेन्द्र झाले समाचार लेख्दा पीडित बालबालिकाको गोपनीयता, सुरक्षा र मर्यादामा ध्यान दिनुपर्ने आवश्यकता औंल्याउँदै तथ्यमा आधारित र संवेदनशील पत्रकारिताले मात्र समाजलाई सही बाटोमा डोर्याउने धारणा राखे।
नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष ध्रुव दंगालले तालिमले स्थानीय पत्रकारलाई थप दक्ष र उत्तरदायी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्दै सहयोगी संस्थाप्रति आभार प्रकट गरे।
२ भाद्र २०८२, सोमबार ०५:४९