/*php the_title();*/?>

जनतापत्र,सिन्धुपाल्चोक ।
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकको आयोजनामा चौतारामा प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ को तयारी तथा निर्वाचनमा आम सञ्चारमाध्यमको भूमिकाबारे विस्तृत छलफल कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरू तथा जिल्लामा क्रियाशील सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
छलफलका क्रममा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र विश्वसनीय बनाउन समन्वयात्मक ढंगले काम गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। विशेषगरी निर्वाचन आयोग र जिल्ला निर्वाचन कार्यालयको सुरक्षालाई प्राथमिकतामा राख्दै निर्वाचनमा खटिने कर्मचारी, उम्मेदवार तथा राजनीतिक दलका कार्यालयहरूको सुरक्षा सुनिश्चित गरिने जानकारी दिइयो।

साथै मतदाता सुरक्षालाई केन्द्रबिन्दुमा राखेर सम्पूर्ण कार्य निर्वाचन कानुन तथा आयोगका निर्णयअनुसार समयमै सम्पन्न गरिने स्पष्ट पारियो। कार्यक्रममा “प्रतिनिधि सभा निर्वाचन एकीकृत जिल्ला सुरक्षा योजना–२०८२” तर्जुमा गरी कार्यान्वयनमा ल्याइएको, कृत्रिम मतदान अभ्यास सफलतापूर्वक सम्पन्न भएको, मतपेटिका ढुवानी योजना तयार भइसकेको तथा संयुक्त र एकल गस्ती व्यवस्थालाई प्रभावकारी बनाइएको जानकारी गराइएको थियो। सुरक्षा निकायका अनुसार आवश्यक तालिम तथा आन्तरिक तयारीसमेत पूरा भइसकेको छ, जसले निर्वाचनलाई व्यवस्थित र शान्तिपूर्ण बनाउन थप बल पुगेको छ।

जिल्लामा प्रतिनिधि सभा सदस्य पदका लागि कुल १८ जना उम्मेदवार प्रतिस्पर्धामा रहेको जानकारी दिइएको छ। उम्मेदवारहरूले निर्वाचन आचारसंहिता तथा कानुनी प्रावधानअनुसार आफ्ना गतिविधि अघि बढाइरहेको जनाइएको छ। तीमध्ये ४ जना उम्मेदवारले निर्वाचन खर्च व्यवस्थापनका लागि अनिवार्य रूपमा छुट्टै बैंक खाता खोलेर आर्थिक कारोबार सुरु गरिसकेको जानकारी दिइयो। निर्वाचन खर्च पारदर्शी र व्यवस्थित बनाउन बैंकमार्फत मात्रै कारोबार गर्नुपर्ने प्रावधान कार्यान्वयनमा ल्याइएको छ। सञ्चारकर्मीहरूले पनि निर्वाचनसम्बन्धी सूचना तथ्यपरक, सन्तुलित र जिम्मेवार ढंगले प्रवाह गर्दै मतदातालाई सचेत र सकारात्मक बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। कार्यक्रममा निर्वाचनलाई लोकतन्त्रको पर्वका रूपमा उत्साहपूर्वक र मर्यादित ढंगले सम्पन्न गराउन सबै पक्षबीच सहकार्य र समन्वय अझ सुदृढ बनाउने निष्कर्ष निकालिएको छ।
११ फाल्गुन २०८२, सोमबार २०:३०