चौतारामा निःशुल्क मोतियाबिन्दु शल्यक्रिया सेवा


जनतापत्र, चौतारा ।
सिन्धुपाल्चोकको चौतारामा आजदेखि निःशुल्क मोतियाबिन्दु शल्यक्रिया सेवा औपचारिक रूपमा सुरु भएको छ । सेवा सुरु भएको पहिलो दिनमै ४२ जना मोतियाबिन्दुका बिरामीको सफल शल्यक्रिया गरिएको छ ।
तिलगंगा आँखा अस्पतालका आँखा रोग विशेषज्ञ डा। रबा थापाको नेतृत्वमा आएको चिकित्सक टोलीले शल्यक्रिया गरिरहेको छ । चौतारा साँगाचोकगढी नगरपालिकाको पहलमा सञ्चालन गरिएको यस सेवाअन्तर्गत नगरका सबै १४ वटै वडामा चरणबद्ध रूपमा आँखा परीक्षण शिविर सञ्चालन गरिएको थियो । सो क्रममा मोतियाबिन्दु पहिचान भएका बिरामीहरूलाई नगरपालिकाले आफ्नै खर्चमा चौतारा ल्याएर शल्यक्रिया गराइरहेको छ ।
नगर स्वास्थ्य शाखा प्रमुख दिनेश नेपालका अनुसार यो अभियानमार्फत १०० भन्दा बढी ज्येष्ठ नागरिकको मोतियाबिन्दु शल्यक्रिया गर्ने लक्ष्य राखिएको छ । स्थानीय स्तरमै निःशुल्क स्वास्थ्य सेवा उपलब्ध हुँदा आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुने नागरिकलाई ठूलो राहत मिलेको उनले बताए ।
नगर प्रमुख कृष्णप्रसाद सापकोटाले गत वर्ष सञ्चालन गरिएको निःशुल्क आँखा परीक्षण तथा उपचार शिविर प्रभावकारी भएपछि यस वर्ष पनि निरन्तरता दिइएको जानकारी दिए । उपप्रमुख सिता थापाका अनुसार शिविरमा आँखा परीक्षणसँगै चस्मा जाँच तथा निःशुल्क वितरणको व्यवस्था समेत गरिएको छ । नगरपालिकाले आइतबार र सोमबार चौतारामा मोतियाबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने जनाएको छ ।
यसैबीच जुगल गाउँपालिकाबाट पनि ३० जना ज्येष्ठ नागरिक मोतियाबिन्दु शल्यक्रियाका लागि चौतारा पुगेका छन् । जुगल गाउँपालिकाका विभिन्न वडामा १० दिनसम्म सञ्चालन गरिएको आँखा शिविरमा मोतियाबिन्दु पहिचान भएका ज्येष्ठ नागरिकको शल्यक्रियाका लागि गाउँपालिकाले यातायातको व्यवस्था गरेको गाउँपालिका अध्यक्ष रेशम स्याङ्बोले जानकारी दिए ।

२१ पुष २०८२, सोमबार १०:४८