/*php the_title();*/?>

सुनिता रखाल ,सिन्धुपाल्चोक ।
चौतारा साँगाचोकगढी नगरपालिकामा रहेको जनजागृति माध्यमिक विद्यालय मा नाबालिकामाथि दुर्व्यवहार गर्ने प्रयास भएको आरोपको घटनाप्रति महिला मानवअधिकार रक्षकहरूको जिल्ला सञ्जालले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै विज्ञप्ति जारी गरेको छ। सञ्जालले घटनामा संलग्न दोषीलाई कानुनअनुसार कडा कारबाही गर्न जोडदार माग गरेको छ। सञ्जालद्वारा जारी विज्ञप्तिमा विद्यालयजस्तो संवेदनशील र जिम्मेवार शैक्षिक संस्थाभित्र यस्ता गम्भीर प्रकृतिका आरोप लाग्नु दुःखद र निन्दनीय भएको उल्लेख गरिएको छ। यस्ता घटनाले समाज र शिक्षा क्षेत्रको विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाउने भन्दै दोषीमाथि कुनै पनि प्रकारको संरक्षण वा दबाब बिना निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

घटनापछि स्थानीयवासीको चासो र दबाबका बीच प्रहरीले आरोपित व्यक्ति तथा सम्बन्धित जिम्मेवार पक्षलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाइएको छ। सञ्जालले अनुसन्धान प्रक्रियालाई पारदर्शी, निष्पक्ष र छरितो बनाउन सम्बन्धित निकायसँग आग्रह गरेको छ। विज्ञप्तिमा पीडित बालिकाको गोपनीयता, सुरक्षा र सम्मान सुनिश्चित गर्नुपर्ने कुरामा विशेष जोड दिइएको छ। साथै, यस्ता घटनामा संलग्न जो–कोहीलाई कानुनी दायरामा ल्याई कडा सजाय दिनु नै भविष्यमा यस्ता अपराध रोक्ने प्रभावकारी उपाय हुने सञ्जालको भनाइ छ। सञ्जालले सम्बन्धित निकायसँग घटनाको सत्य–तथ्य छिटो बाहिर ल्याई कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाउन आग्रह गर्दै, समाजका सबै पक्षलाई यस्ता अपराधविरुद्ध एकजुट हुन आह्वानसमेत गरेको छ।
१९ माघ २०८२, आईतवार १८:२७