चौतारामा नागरिक समाजको सशक्त उपस्थितिसहित अभिमुखीकरण कार्यक्रम सम्पन्न

जनतापत्र,सिन्धुपाल्चोक ।
चौतारामा स्थानीय योजना तथा कानुनी निर्माण प्रक्रियामा सहभागिता, संलग्नता र वकालतसम्बन्धी नागरिक संघ–संस्थाहरूको अभिमुखीकरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। स्थानीय तहको नीति तथा योजना निर्माण प्रक्रियामा नागरिक समाजको प्रभावकारी भूमिका सुनिश्चित गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रम अर्थपूर्ण छलफल, बहस र सुझावले समृद्ध बनेको थियो। कार्यक्रममा गैरसरकारी संस्था महासङ्घका अध्यक्ष भवानी श्रेष्ठ, नातिबाबु धिताल, गैरसरकारी सङ्घका केन्द्रीय उपाध्यक्ष, नेपाल पत्रकार महासङ्घ सिन्धुपाल्चोक जिल्ला शाखाका अध्यक्ष ध्रुवा दङ्गाललगायत विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि, सञ्चारकर्मी तथा सरोकारवाला व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको सभापतित्व महासंघ जिल्ला शाखाका अध्यक्ष भवानी श्रेष्ठले गर्नुभएको थियो। कार्यक्रममा महासंघ बागमती प्रदेशका सचिव नरेश श्रेष्ठले प्रस्तुति गर्नुभएको थियो भने नेपाल पत्रकार महासंघ जिल्ला शाखाका अध्यक्ष धु्रव दंगाल, उपाध्यक्ष कमला पाख्रिन तथा मानवअधिकारकर्मी नातिबाबु धितालले समसामयिक परिवेशमा महासंघको भूमिकाबारे मन्तव्य राख्नुभएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष भवानी श्रेष्ठले स्थानीय तहको नीति, कार्यक्रम तथा बजेट निर्माण प्रक्रियामा नागरिक समाजको सक्रिय सहभागिता अनिवार्य रहेको उल्लेख गर्नुभयो। उहाँले पारदर्शिता, उत्तरदायित्व र सुशासन प्रवर्द्धनका लागि नागरिक समाजको निरन्तर खबरदारी र रचनात्मक सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो।


त्यसैगरी, कानुनी सचेतना अभिवृद्धि, सामाजिक न्यायको प्रत्याभूति, विभेद र कुरीतिविरुद्ध सशक्त आवाज उठाउने विषयमा सहभागीहरूले आ–आफ्ना विचार राख्दै नागरिक समाज परिवर्तनको अग्रदूत भएको बताएका थिए। स्थानीय विकास, समावेशी नीति निर्माण, मानव अधिकार संरक्षण तथा सामाजिक रूपान्तरणका क्षेत्रमा नागरिक संघ–संस्थाहरूले पुर्‍याउँदै आएको योगदान उल्लेखनीय रहेको वक्ताहरूको भनाइ थियो। कार्यक्रममा स्थानीय तहसँग सहकार्य गर्दै नीति निर्माण प्रक्रियामा जनआवाजलाई संस्थागत गर्ने, पारदर्शी योजना तर्जुमा प्रणाली विकास गर्ने र नागरिक वकालतलाई थप प्रभावकारी बनाउने विषयमा गहन छलफल भएको थियो। सहभागीहरूले आगामी दिनमा समन्वय र सहकार्यलाई अझ सुदृढ बनाउँदै सुशासन र समावेशी विकासका लागि साझा अभियान अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। चौतारामा सम्पन्न यो अभिमुखीकरण कार्यक्रमले नागरिक समाजलाई अझ संगठित, जिम्मेवार र प्रभावकारी रूपमा स्थानीय शासन प्रक्रियामा जोड्ने दिशामा महत्वपूर्ण सन्देश दिएको आयोजक पक्षले जनाएको छ।

४ फाल्गुन २०८२, सोमबार १९:०६