चौतारामा नगरस्तरीय खानेपानी तथा सरसफाई उपभोक्ता समितिहरुको भेला

संगिता वुढाथोकी, सिन्धुपाल्चोक ।

चौतारा साँगाचोकगढी नगरपालिकामा नगरस्तरीय खानेपानी तथा सरसफाई उपभोक्ता समितिहरुको भेला तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम बुधवार सम्पन्न भएको हो।

खानेपानी तथा सरसफाई उपभोक्ता महासंघको आयोजना र चौतारा साँगाचोकगढी नगरपालिकाको सहकार्यमा कार्यक्रम सम्पन्न गरिएको हो। कार्यक्रममा नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटा प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो।प्रमुख अतिथि सापकोटाले स्वच्छ र सुरक्षित खानेपानी पिउन पाउनु प्रत्येक नागरिकको आधारभूत अधिकार भएको बताउनुभयो। उहाँले नगरवासीलाई स्वच्छ खानेपानी उपलब्ध गराउन नगरपालिका निरन्तर प्रयासरत रहेको जानकारी दिनुभयो।

कार्यक्रममा विभिन्न उपभोक्ता समितिका प्रतिनिधिहरू, सरोकारवाला निकायका प्रतिनिधिहरू र सरसफाई क्षेत्रमा सक्रिय व्यक्तिहरूको उल्लेख्य उपस्थिति रहेको थियो। भेलामा सरसफाईका प्रविधिहरू, पानीको स्रोत संरक्षण, उपभोक्ताको भूमिका, र व्यवस्थापन सम्बन्धी विषयमा जानकारी दिइएको थियो।

कार्यक्रमले उपभोक्ता समितिहरूलाई अझ प्रभावकारी रूपमा काम गर्न उत्प्रेरणा मिलेको र भविष्यमा खानेपानी तथा सरसफाईका कामलाई व्यवस्थित रूपमा अघि बढाउन सहयोग पुग्ने सहभागीहरूको भनाइ थियो।

४ असार २०८२, बुधबार १९:२४