चाडपर्व नजिकिँदै गर्दा पालिकाहरुले सुरु गरे सडक मर्मत र सफाइ

सुनिता रखाल, सिन्धुपाल्चोक ।
नेपालीहरुको महान चाड दशैं नजिकिँदै गर्दा सिन्धुपाल्चोकका विभिन्न पालिकाहरुले सडक सफाइ तथा मर्मत कार्यलाई तीव्रता दिएका छन् ।

त्रिपुराशुन्दरी गाउँपालिकाले प्रत्येक सडक र बाटोको अवलोकन गरी भत्किएका स्थानमा तत्काल मर्मत तथा पुनर्निर्माण सुरु गरेको पालिकाका प्रवक्ता रमेश बोहराले जानकारी दिनुभयो । उहाँका अनुसार वर्षाको कारण धेरै सडक तथा बाटोहरु क्षतिग्रस्त भएकाले समयमै मर्मत नगरे नागरिकलाई चाडपर्वमा आवतजावतमा समस्या हुने भएकाले यो अभियान अघि बढाइएको हो ।

यसैगरी, जुगल गाउँपालिकाले भने अति आवश्यक बाहेक हिँडडुल नगर्न आग्रह गर्दै सूचना जारी गरेको छ । भाद्र १६ गतेको अविरल वर्षाले वलेफि–तेम्बाथान सडक अन्तर्गत जुगल गाउँपालिका–५ पर्ने लप्टुडाँडामा (लाकुरी विसौना) सडक पूर्णरुपमा क्षतिग्रस्त भएको र हाल गाउँपालिकाको सहयोगमा मर्मत कार्य भइरहेको जानकारी दिइएको छ । निर्माण कार्य सम्पन्न नहुन्जेल सामान्य सवारी आवतजावत रोकिएको छ ।

पाँचपोखरी थाङपाल गाउँपालिकामा पनि लगातारको वर्षाका कारण विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । गाँउपालिका जाने मुख्य सडकनै अवरोध भएपछि जे. सि. वि.को सहयोगले बाटो सफा गर्दे आवत जावत गर्न सक्ने बनाएको पालिकाका कर्मचारी राम न्यौपानेले जनकारी दिनुभयो ।

३० भाद्र २०८२, सोमबार १५:३१