गौराति भीमेश्वर मेला आजबाट सुरु


जनतापत्र, चौतारा ।
आज देखि चौतारा–सिन्धुपाल्चोकको प्रख्यात एवम् ऐतिहासिक गौराति भीमेश्वरको मेला सुरु भएको छ ।
राजधानी काठमाडौँदेखिको मध्यपूर्वमा अवस्थित
यो मेला हरेक वर्ष कात्तिक पूर्णिमाका दिन देखि पन्चमिको दिन सम्म भव्य रुपमा लाग्ने गर्छ ।
पछिल्लो समय भने पूर्णिमादेखि तीन दिन प्रतिपदासम्म तीन दिन चल्ने यो मेलाको अवधि छोटिँदै आएको छ ।
सदरमुकामबाट चारकिलोमिटर उत्तरमा चौतारा साँगाचोकगढी नगरपालिका–६ गौरातिमा गौराति मेला लाग्दछ ।
गौराति भीमेश्वरप्रतिको विश्वास केटाकेटी, युवायुवती, वृद्धवृद्धा सबैमा उत्तिकै रहेको छ ।

पूर्णिमाको दिन हिजो साँझ मन्दिरको चारैतिर अखण्ड दीप प्रज्वलन गरी नरनारीहरु रातभर जाग्राम बसेर भजनकिर्तनसहित भक्तिपूर्व भीमेश्वरको पूजाअर्चना गरेका छन् ।
चौतारा पुरानो बजारबाट गुठीयारहरुले चौतारा भीमसेनको रथलाई सोही दिन राति गौराति पु¥याएर भीमेश्वरसँग मिलन गराउँछन् । यो रथलाई सन्दुरे यात्रा गरी पुनः चौतारामा ल्याई विधिवत रुपमा मेला विसर्जन गरिन्छ । यसरी फर्काइएको भीमसेनको रथमा प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, जिल्ला न्यायाधीशले बोको बली दिइ प्रशाद खुवाउने प्रचलन छ ।
मनोकांक्षा पूरा हुने, शक्ति प्राप्त हुने र पापबाट मूक्ति मिल्ने विश्वासका साथ जिल्लावासी तथा विभिन्न जिल्लाका हजारौँ भक्तजनहरुको गौराति भीमेश्वरको पूजाआजा गर्न घुँईचो लाग्छ ।

३० कार्तिक २०८१, शुक्रबार ०२:४२