/*php the_title();*/?>

जनतापत्र,सिन्धुपाल्चोक ।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले देशमा अब गरिखाने संस्कृतिको सुरुवात भइसकेको बताउनुभएको छ । ठगी खाने र मागी खाने प्रवृत्तिको समय सकिएको उल्लेख गर्दै उहाँले प्रदेश र स्थानीय तहले नागरिकलाई आत्मनिर्भर बनाउने दिशामा काम गरिरहेको बताउनुभयो । मेलम्ची नगरपालिका–९ गुफाडाँडामा आयोजित छैठौँ जलवायु सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले जनताको शासन मन नपर्ने केही समूहले गाजाको तालमा लठ्ठ भएर जेन–जी आन्दोलन हाइज्याक गरी संसद भवन, सिंहदरबार र अदालतमा आगजनी गरेको आरोप लगाउनुभयो ।

राजनीतिक दलको नाममा भ्रम फैलाउनेहरू गाउँसम्म छिर्न सक्ने भएकाले नागरिक सचेत हुनुपर्ने उहाँको भनाइ थियो । मुख्यमन्त्री बानियाँले अहिले निर्वाचनको वातावरण नरहेको भन्दै सरकारले निर्वाचन गर्नेगरी अगाडि नबढेको स्पष्ट पार्नुभयो । युट्युब र फेसबुकमार्फत फैलाइने भ्रमका कारण जनता दिग्भ्रमित भएको र जेलबाट छुटेका कैदीका कारण शहर–बजार असुरक्षित बन्दै गएको उहाँको टिप्पणी थियो । विकासलाई व्यवस्थित ढंगले अगाडि बढाउने प्रतिबद्धता जनाउँदै उहाँले जनमुखी, आयमुखी र गाउँमुखी विकास अहिलेको आवश्यकता भएको बताउनुभयो । स्थानीय र प्रदेश सरकारको सहकार्यमा विकास अघि बढाइने र सीप तालिम तथा प्रविधि हस्तान्तरणसहितको ७०र३० कार्यक्रम प्रभावकारी भएको उहाँले उल्लेख गर्नुभयो ।

लहडमा सिंहदरबार र अदालत जलाउनेहरूले सामाजिक सञ्जालमार्फत देशमा केही नभएको भाष्य निर्माण गरे पनि पुराना राजनीतिक दलको विकल्प नरहेको मुख्यमन्त्री बानियाँको भनाइ थियो । हुँदा खानेलाई उकास्ने र हुने खानेले सञ्चालन गरेका उद्योग–कलकारखानाबाट कर संकलन गरी विपन्न वर्गको जीवनस्तर सुधार्नु नै राजनीतिक धर्म भएको उहाँले बताउनुभयो ।
मुख्यमन्त्री बानियाँले मेलम्ची–गुफाडाँडा–ओखरेनी सडक निर्माणको जिम्मेवारी लिँदै गुफाडाँडालाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता जनाउनुभयो । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङसँग निरन्तर समन्वय र सम्पर्कमा रहेको उल्लेख गर्दै यहाँको सुख–दुःखमा सधैं साथ रहने उहाँले बताउनुभयो । कार्यक्रममा बोल्दै मुख्यमन्त्री बानियाँले नेपालका संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधरहरू एक ठाउँमा उभिनुपर्ने आजको आवश्यकता रहेको बताउनुभयो । अस्वाभाविक विकासको नाममा विनासतर्फ नलाग्न र जलवायु सम्मेलनलाई साँच्चिकै सफल बनाउन सबैलाई लाग्न उहाँले शुभकामना व्यक्त गर्नुभयो ।
१७ पुष २०८२, बिहीबार २०:५०