/*php the_title();*/?>

जनतापत्र,मेलम्ची सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–९ गुफाडाँडामा स्वर्गीय जस्पाल पाख्रीन तामाङ बासा को सम्झनामा शालिक अनावरण तथा स्मृति सभा सम्पन्न भएको छ । कार्यक्रम भव्य रूपमा सम्पन्न भएको जानकारी स्वर्गीय तामाङका नाती निशान तामाङले दिनुभएको हो । स्मृति कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो भने निवर्तमान जिल्ला समन्वय समिति प्रमुख कृष्णगोपाल तामाङ विशेष अतिथि रहनुभएको थियो । वडा नम्बर ९ का अध्यक्ष किरणदिप खड्काको आतिथ्यमा स्वर्गीय तामाङको शालिक अनावरण गरिएको हो ।

शालिक अनावरणपछि बोल्दै नगर प्रमुख तामाङले स्वर्गीय जस्पाल पाख्रीन तामाङ समाजसेवा, स्थानीय विकास र सामाजिक सद्भावका प्रतीक व्यक्ति भएको उल्लेख गर्नुभयो । उहाँले समाजका लागि उहाँले पुर्याउनुभएको योगदान पनि सबैका लागि प्रेरणादायी रहेको भन्दै स्मृतिको सम्मानस्वरूप गरिएको शालिक स्थापना भावी पुस्ताका लागि मार्गदर्शक बन्ने बताउनुभयो । विशेष अतिथि कृष्णगोपाल तामाङले स्वर्गीय तामाङको योगदान गुफाडाँडा वा वडा नम्बर ९ मा मात्र सीमित नरहेको उल्लेख गर्दै उहाँले देखाउनुभएको सामाजिक उत्तरदायित्व र समर्पणले सबैलाई सकारात्मक कार्यतर्फ प्रेरित गर्ने बताउनुभयो । यस्ता स्मृति कार्यक्रमले सामाजिक एकता अझ सुदृढ बनाउने उहाँको भनाइ थियो ।

कार्यक्रमका अध्यक्षसमेत रहनुभएका वडा अध्यक्ष किरणदिप खड्काले वडाले जन्माएको एक कर्मशील व्यक्तित्वको योगदानलाई सम्मान गर्न पाउँदा गौरव महसुस भएको बताउनुभयो । कार्यक्रम स्वर्गीय तामाङका छोरा शेरपदोर्जे पाख्रीनको अध्यक्षतामा सम्पन्न भएको हो ।
१० पुष २०८२, बिहीबार ०९:३८