गणतन्त्र दिवस २०८२ चौतारामा मनाइयो

जनतापत्र, सिन्धुपाल्चोक ।
गणतन्त्र दिवस २०८२ चौतारामा औपचारिक रुपमा मनाइएको छ । गणतन्त्र दिवस जिल्ला समारोह समिति सिन्धुपाल्चोकको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । भिन्तुना चोकदेखि टुडिखेल चोकसम्म प्रभातफेरी निकाल्दै गणतन्त्र दिवस मनाइएको थियो ।


टुडिखेलमा कोषसभा गरिएको थियो । कार्यक्रमको अध्यक्षता जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख वालकृष्ण श्रेष्ठले गरेका थिए भने चौतारा सागाँचोकगढी नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद सापकोटा प्रमुख अतिथि थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि सापकोटाले गणतन्त्रलाई संस्थागत रुपमा सुदृढ गर्दै विरोधी गतिविधिहरूलाई रोक्नुपर्ने आवश्यकता औंल्याए । उनले लोकतान्त्रिक आन्दोलनबाट प्राप्त उपलब्धिलाई जोगाउन सबै नागरिकको भूमिका महत्वपूर्ण रहेको बताए।


नगर उपप्रमुख सीता थापाले गणतन्त्र स्थापित गर्ने आन्दोलनको योगदानलाई सम्झँदै त्यसको रक्षा र सुदृढीकरणमा स्थानीय तहको भूमिका उल्लेख गरिन्।
प्रमुख जिल्ला अधिकारी किरण थापाले यस्ता राष्ट्रिय दिवसहरू सबैको साझा अपनत्वको विषय हुनु पर्ने बताए। उनले कार्यक्रममा आम सर्वसाधारणको उपस्थिति न्यून रहनुप्रति चिन्ता व्यक्त गरे।
नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका सचिव टिका सुवेदीले रगत र बलिदानबाट प्राप्त भएको गणतन्त्रको मर्मअनुसार मुलुक सञ्चालन हुनुपर्ने धारणा राखे। उनले यस्ता अवसरमा राजनीतिक दल, सामाजिक अभियन्ताहरूको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गरे।


गणतन्त्र दिवसको अवसरमा वृद्वाश्रम र अस्पतालमा फलफूल वितरण गरिएको थियो। साथै, मैत्रीपूर्ण फुटबल तथा दौड प्रतियोगिता आयोजना गरिएको थियो। विजयी खेलाडीहरूलाई प्रमाणपत्र र ट्रफी प्रदान गरिएको थियो।
यद्यपि सरकारी कर्मचारी र केही जनप्रतिनिधिहरूको मात्र सहभागिता रहेको उक्त कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि र सर्वसाधारणको उपस्थिति भने शून्य देखिएको थियो। यसले गणतन्त्र दिवसप्रति आम जनताको चासो र सहभागिता घट्दो अवस्थामा रहेको संकेत गरेको स्थानीयले बताएका छन्।
गणतन्त्रको मूल्य र मर्म जनस्तरसम्म पु¥याउन अझ प्रभावकारी कार्यक्रम र सहभागिता आवश्यक रहेको निष्कर्ष कार्यक्रमका सहभागीहरूले दिएका छन्।

१६ जेष्ठ २०८२, बिहीबार ११:२२