/*php the_title();*/?>


शशि आचार्य
वडा अध्यक्ष, इन्द्रावति ५
देशमा केही भएन, सबै बर्बाद भयो भन्नेहरूलाई एउटा आग्रह छ—कृपया आँखा खोल्नुस्, अस्पताल घुम्नुस्, विद्यालय छिर्नुस्, सडक हिँड्नुस्, अनि मात्र भन्नुस् यहाँ केही भएन भनेर।
१) तपाईं स्कुल जाँदा खाली खुट्टा जानु हुन्थ्यो, आज छोराछोरीले स्कुलमै खाजा खान्छन्। ड्रेस, पुस्तक, कापी–कलम, नर्स, ICT ल्याब, विज्ञान प्रयोगशाला, आधुनिक कक्षाकोठा—सबै विद्यालयमै पाउन थालेका छौं।
२) तपाईं हिँडेरै घण्टौँ पछि मात्रै गाडी भेट्थुभयो, आज गाडी घरको ढोकासम्म आइपुगेको छ। कालोपत्रे सडक गाउँ–गाउँमा पुगेको छ। शहर पस्दा सुरुङमार्ग पार गरेर छिट्टै पुग्न मिल्छ।
३) पहिले सामान्य बिरामी पिठ्युँमा बोकेर टाढा लैजानुपर्थ्यो, आज ३० मिनेटमै एम्बुलेन्स चढेर गाउँकै अस्पताल पुगिन्छ। विशेषज्ञ डाक्टरदेखि नि:शुल्क उपचार र औषधि उपलब्ध छन्।
४) तपाईंका बाबु धान ढिकीमा कुटेर नाम्लोमा बोकेर बजार पुर्याउँथे, आज तपाईं सजिलै बैंक, मोबाइलमार्फत रकम लिन–पठाउन सक्नुहुन्छ। उत्पादनमा सरकारले अनुदान दिएको छ, दूध बिक्रीको रकम खातामै भित्रिन्छ।
५) पहिले भोकले गाउँ–गाउँमा मानिस मर्थे, आज त्यस्तो अवस्था छैन।
६) तपाईं टुकीमा धुवाँ खाँदै पढ्थुभयो, आज बिजुलीको स्वीच थिचेर कुकरमा भात, केतलीमा पानी, गर्मीमा पंखा, चिसोमा AC चलाउन पाइन्छ।
७) देश–विदेशको समाचार मोबाइलको स्क्रिनमा पलभरमै हेर्न सकिन्छ। फेसबुक–लाइभ आउँदै नेतामा गाली गर्न पाइन्छ।
८) धाराबाट घरमै शुद्ध पानी पाइन्छ। पहिले खेतमा पानी नपाएर हप्तौँ रुनुपर्थ्यो, आज ट्र्याक्टर–मोटरले केही मिनेटमै धान रोपाइँ सकिन्छ।
९) सडक किनारमा फोहर थुपार्दै अरूलाई दोष दिन सक्ने स्वतन्त्रता छ।
१०) पहिले मुग्लानबाट पैसा र चिठी महिनौँमा आउँथ्यो, आज डिजिटल माध्यमले क्षणभरमै आइपुग्छ।
११) सरकारी सेवा पनि घरमै अर्डर गरेर पाउन सकिन्छ।
१२) हजुरबुबाले पाउनु भएको ज्येष्ठ नागरिक भत्ताबाट मोबाइल रिचार्ज गरेर डाटा चलाइन्छ।
१३) आफ्नै घरअगाडि सानो समस्या समाधान गर्न सकिँदा पनि “खै वडाको बजेट?” भन्दै दोषारोपण गर्न सकिन्छ।
१४) अझै गर्नुपर्ने धेरै बाँकी छ। तर केवल गाली गरेर, परदेश गएर देश बन्दैन। यहीँ बसेर पसिना बगाउनु पर्छ, नेतृत्व गर्ने आँट गर्नुपर्छ।
१५) नकारात्मकताले मात्रै देश बन्दैन। राम्रो कामलाई राम्रो भन्न सक्नुपर्छ, राम्रो गर्नेको उत्साह बढाउन सक्नुपर्छ। हातेमालो गर्न सकिन्छ भने—देश अझै राम्रो बन्नेछ।
९ भाद्र २०८२, सोमबार ०७:०४