कृष्ण रत्नगंगा माध्यमिक विद्यालयको ७९औँ वार्षिकोत्सव सम्पन्न

समाजसेवी, कलाकार, शिक्षक तथा विद्यार्थी सम्मानित

टिका सुवेदी, सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोक जिल्लाको ऐतिहासिक शैक्षिक धरोहरका रूपमा परिचित कृष्ण रत्नगंगा माध्यमिक विद्यालयको ७९औँ वार्षिकोत्सव तथा ५१औँ अभिभावक भेला भव्य रूपमा सम्पन्न भएको छ। विद्यालय परिसरमा आयोजित समारोहमा शिक्षा, समाजसेवा, कला तथा विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभाका पूर्वसभामुख अग्निप्रसाद सापकोटाले सम्मानित व्यक्तित्वहरूलाई दोसल्ला र प्रमाणपत्र प्रदान गर्दै सम्मान गरे। सो अवसरमा सम्बोधन गर्दै उनले समाजवाद विश्वकै उत्कृष्ट व्यवस्था भएको उल्लेख गरे। उनले नेपालको संविधान २०७२ मा समेत समाजवादको दिशानिर्देश गरिएको भन्दै त्यसलाई व्यवहारमा उतार्न सबै पक्ष सचेत भएर अघि बढ्नुपर्नेमा जोड दिए।


पूर्वसभामुख सापकोटाले शिक्षा केवल प्रमाणपत्र प्राप्त गर्ने माध्यम मात्र नभई जीवनोपयोगी सीप, नैतिकता र चरित्र विकासको आधार हुनुपर्ने धारणा व्यक्त गरे। अन्तर्राष्ट्रिय श्रम बजारमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्नु आजको आवश्यकता भएको उनको भनाइ थियो। व्यवस्था परिवर्तन भए पनि जनताको आधारभूत जीवनस्तरमा अपेक्षित सुधार हुन नसकेको उल्लेख गर्दै उनले शिक्षालाई सामाजिक रुपान्तरणको मेरुदण्ड बनाउन आग्रह गरे।
उनले विद्यार्थी, शिक्षक र अभिभावक सबैलाई नैतिकवान, अनुशासित र जिम्मेवार नागरिक बन्ने शिक्षाको महत्वबारे समेत प्रकाश पारे। शिक्षा समाजिकरण र कर्तव्यबोध गराउने माध्यम भएकाले विद्यालयले टिक्ने, बिक्ने र उपयोगी शैक्षिक जनशक्ति उत्पादनमा ध्यान दिनुपर्ने उनको सुझाव थियो


कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिका–५ का वडाध्यक्ष तथा वडा शिक्षा समितिका संयोजक शिव श्रेष्ठले विद्यालयप्रति समुदायस्तरबाट उठ्ने प्रश्नहरूलाई विद्यालय व्यवस्थापन समिति र प्रशासनले गम्भीरतापूर्वक लिनुपर्ने बताए। उनले नगरपालिकाले शिक्षालाई प्राथमिकतामा राखेर अघि बढिरहेको उल्लेख गर्दै अभिभावकको बढ्दो चासोप्रति खुसी व्यक्त गरे। विद्यार्थीको रुचि र क्षमताअनुसार शिक्षण पद्धति अपनाउनुपर्नेमा जोड दिँदै उनले शैक्षिक सुधारका लागि सबै सरोकारवालाको सहकार्य आवश्यक रहेको बताए।


वार्षिकोत्सवका अवसरमा विद्यालयले सामाजिक तथा शैक्षिक क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएका विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरेको छ। सम्मानित हुनेहरूमा पूर्वमन्त्री तथा बागमती प्रदेशसभा सदस्य युवराज दुलाल, चौतारा साँगाचोकगढी नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद सापकोटा, खानेपानी तथा ढल व्यवस्थापन कार्यालय रामेछापका प्रमुख वरिष्ठ डिभिजन इन्जिनियर राजेन्द्रप्रसाद कक्षपति, विद्युत नियमन आयोगमा कार्यरत वरिष्ठ डिभिजन इन्जिनियर हरिबहादुर खत्री, वैदेशिक रोजगार विभागका शाखा अधिकृत शान्ता बस्न्यात लगायत रहेका छन्।
त्यस्तै, चर्चित संगीतकार तथा गायक चेतन सापकोटा, अन्तर्राष्ट्रिय तेक्वान्दो रेफ्री तथा रेस्लर कृष्णबहादुर मगर, अधिवक्ता दुर्गाप्रसाद ढुंगेल, नवगायिका मञ्जु उपासना, कलाकार कृष्णप्रसाद धिताल, समाजसेवी कमलचरण कक्षपति, श्यामकृष्ण श्रेष्ठ र संसार श्रेष्ठलाई समेत सम्मान गरिएको थियो।


रामज्योति फाउण्डेशनले विद्यालयका दुई जना जेहेन्दार विद्यार्थीलाई जनही १० हजार रुपैयाँ सहयोग प्रदान गरेको छ। साथै, सहयोगदाता, विद्यालयमा योगदान पु¥याउने व्यक्ति, उत्कृष्ट विद्यार्थी, वर्ष उत्कृष्ट शिक्षक तथा उत्कृष्ट शिक्षकलाई पुरस्कार र सम्मान प्रदान गरिएको थियो।
यसै अवसरमा विद्यालयमा लामो समय सेवा गरेका शिक्षकहरूलाई पनि कदर गरिएको थियो। विज्ञान शिक्षक रामहरि मिश्र, शिक्षक जितेन्द्र लामा तथा अंग्रेजी माध्यम प्रारम्भदेखि निरन्तर सेवा गर्दै आएकी शिक्षिका प्रमिला श्रेष्ठलाई विशेष सम्मान प्रदान गरिएको विद्यालयले जनाएको छ।

(यो समाचारमा प्रयोग गरिएको फोटो प्रभात श्रेष्ठको फेसवुक पेजबाट साभार गरिएको हो ।)

२० पुष २०८२, आईतवार ०७:४२