/*php the_title();*/?>

जनतापत्र,सिन्धुपाल्चोक ।
काभ्रेपलाञ्चोक जिल्ला अदालतको फैसलापछि हाडनाता करणी मुद्दामा दोषी ठहर भएका एक बाबु कारागार चलान भएका छन्। पारिवारिक अवस्था जटिल बनेपछि उनका ६ र ४ वर्षका दुई छोराहरू संरक्षणको अभावमा बाल आश्रममा बस्दै आएका थिए। आश्रममा आवास, विद्यालय भर्ना तथा अन्य सेवा प्राप्त गर्न आवश्यक कागजात जुटाउने क्रममा ती बालकहरूको जन्मदर्ता नभएको खुलेको हो। जन्मदर्ता अभावमा उनीहरू कानुनी रूपमा औपचारिक पहिचानविहीन अवस्थामा थिए।

ठेगाना चौतारा साँगाचोकगढी नगरपालिका–१४ रहेको पुष्टि भएपछि आश्रमले सम्बन्धित वडा कार्यालयसँग समन्वय गरेको थियो। वडाध्यक्ष उद्वब नेपाल र वडा सचिव पुनम भण्डारीले आवश्यक प्रक्रिया अघि बढाएका थिए।
बालकका बाबुको पहिचान सुनिश्चित गर्न विभिन्न अभिलेख, नागरिकता विवरण र टोल सर्जिमिन मुचुल्का संकलन गर्नुपरेको बताइएको छ। गाउँमा प्रयोग हुने नाम, कारागार अभिलेख र नागरिकतामा उल्लेखित नाम फरक–फरक भेटिएपछि तथ्य पुष्टि गर्न थप पहल गरिएको थियो। अन्ततः सम्बन्धित कागजात मिलान गरी, कारागारमै पुगेर आवश्यक अनुसूची फाराम पूरा गरिएपछि दुवै बालकको जन्मदर्ता प्रक्रिया सम्पन्न भएको हो। यस पहलले दुई निर्दोष बालकलाई औपचारिक कानुनी पहिचान दिलाएको छ। अब उनीहरू विद्यालय भर्ना, स्वास्थ्य सेवा तथा अन्य सरकारी सुविधामा पहुँच पाउने भएका छन्।
वडाध्यक्ष नेपालका अनुसार अब ती बालकलाई चौतारा साँगाचोकगढी नगरपालिका–७ स्थित नगरपालिकाद्वारा सञ्चालित बालग्राममा स्थानान्तरण गरी अध्ययनको व्यवस्था गर्ने योजना रहेको छ।
स्थानीय तहको सक्रिय पहलले साना देखिने तर जीवनपर्यन्त प्रभाव पार्ने काममार्फत दुई बालकको भविष्यतर्फ नयाँ ढोका खोलेको छ।
३ फाल्गुन २०८२, आईतवार १२:१९