कांग्रेसले सिन्धुपाल्चोक क्षेत्र नम्बर – २ मा २४ नेताले उम्मेदवारी दाबी

जनतापत्र, सिन्धुपाल्चोक । आगामी राष्ट्रिय सभा र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नं. २ मा २४ नेताले औपचारिक रूपमा उम्मेदवारी आकांक्षा प्रस्तुत गरेका छन्। गोसाइँकुण्ड गाउँपालिकामा बसेको क्षेत्रीय कार्यसमितिको बैठकमा आकांक्षीहरूले आफूलाई उम्मेदवारका रूपमा प्रस्ताव गरेका हुन्।

राष्ट्रिय सभातर्फ चार नेताले दाबी प्रस्तुत गरेका छन्। राजेन्द्रमान ताल्चाभोडेल, श्री लामा, दया मिश्र र विष्णु खड्का नाम अग्रसर गरिएको बैठकपछि पार्टी प्रवक्ता नवराज भट्टराईले जानकारी दिए।

त्यस्तै, प्रतिनिधिसभा प्रत्यक्षतर्फ २० जनाले आकांक्षा देखाएका छन्। मोहन बहादुर बस्नेत, विष्णु विक्रम थापा, भुपेन्द्र थापा, निमाः लामा, जंग बहादुर लामा, राजेन्द्र बहादुर गोठलाई, वंशलाल तामाङ, भारत खड्का, बिरे बहादुर तामाङ, उधव बानियाँ, विक्रम तामाङ, सूर्य न्यौपाने, विष्णु घोरसैनी, राधिका पौडेल, जमुना दंगाल, जित बहादुर थिङ र पारसद दोङलगायत नाम सूचीमा परेका छन्।

समानुपातिकतर्फ शिव बहादुर सुनार, सानुमाया हिमालय र लक्ष्मी सुनारले आकांक्षा प्रस्तुत गरेका छन्। कांग्रेसको केन्द्रीय निर्देशनअनुसार प्रत्यक्षतर्फ महिला अनिवार्य समावेशसहित न्यूनतम तीन जनाको नाम सिफारिस गर्नुपर्ने व्यवस्था छ। अन्तिम सिफारिस महाधिवेशन प्रतिनिधिहरूको निर्णयअनुसार हुने बैठकले स्पष्ट गरेको छ।

बैठकमा सहभागी स्थानीय नेताहरूले पार्टीलाई निर्वाचनमा सशक्त बनाउन रणनीति, आन्तरिक एकता र संगठन विस्तारलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे। उनीहरूले जनताको मुद्दालाई केन्द्रमा राखेर पार्टीलाई थप सबल बनाउने संकल्प पनि गरेको बताए।


२४ मंसिर २०८२, मंगलवार १२:१०