एमाले ११औँ राष्ट्रिय महाधिवेशनः सिन्धुपाल्चोकबाट ८ जनाको उम्मेदवारी

जनतापत्र, काठमाडौँ । नेकपा (एमाले) को ऐतिहासिक ११औँ राष्ट्रिय महाधिवेशनमा सिन्धुपाल्चोक जिल्लाबाट विभिन्न पदमा ८ जनाले उम्मेदवारी दर्ता गराएका छन्। पार्टी नेतृत्व चयनका लागि सुरु भएको महाधिवेशन प्रक्रियामा जिल्लाबाट उपाध्यक्षदेखि केन्द्रीय सदस्यसम्मका पदमा उम्मेदवारहरू मैदानमा उत्रिएका हुन्।

उम्मेदवारी दर्ता गराउनेमध्ये अरुण नेपालले उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन्। यस्तै, शेरबहादुर तामाङ र कमल नेपालले खुल्ला केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन्। जनजाति समूहबाट सुभाष कर्माचार्य र टासी लामा केन्द्रीय सदस्य पदका उम्मेदवार बनेका छन्।

बागमती भूगोलतर्फ हस्त पण्डितले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन् भने खुल्ला महिला कोटाबाट डोल्मा तामाङ उम्मेदवार बनेकी छन्। त्यसैगरी, युवा बागमती समूहबाट आङदोर्जे शेर्पाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन्।

महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन हुने क्रममा सिन्धुपाल्चोकबाट विभिन्न वर्ग, भूगोल र समावेशी समूहको प्रतिनिधित्व हुने अपेक्षा गरिएको छ। उम्मेदवारहरूले पार्टी संगठन सुदृढीकरण, जनआधारित राजनीति र आगामी दिनमा एमालेको भूमिकालाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्दै आएका छन्।

यसैबीच, पार्टीको दीर्घकालीन हित, संगठनको मजबुती तथा नयाँ पुस्तालाई अवसर दिनुपर्ने धारणा राख्दै निबर्तमान केन्द्रीय सदस्य सरेश नेपालले यस पटक उम्मेदवारी दर्ता नगराएको जनाइएको छ।

एमालेको ११औँ राष्ट्रिय महाधिवेशनलाई पार्टीको भावी दिशा तय गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। सिन्धुपाल्चोकबाट उठेका उम्मेदवारहरूले केन्द्रीय नेतृत्वमा जिल्लाको प्रभावकारी उपस्थिति सुनिश्चित गर्ने अपेक्षा गरिएको छ।

१ पुष २०८२, मंगलवार ०५:१२