एमाले सिन्धुपाल्चोक जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ ले मेलम्चिमा कार्यकर्ता भेला

जनतापत्र,सिन्धुपाल्चोक ।
नेकपा एमाले सिन्धुपाल्चोक जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं। २ अन्तर्गत प्रदेश सभा ख ले मेलम्चिमा अगुवा कार्यकर्ता भेला सम्पन्न गरेको छ। भेला प्रदेश सभा ख का संयोजक निर्मल बन्जाराको अध्यक्षतामा तथा मेलम्ची नगर कमिटी सचिव सालिकराम अधिकारीको सञ्चालनमा सम्पन्न भएको हो। कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा निर्वाचन परिचालन समिति संयोजक हस्त पण्डित प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो भने केन्द्रीय सदस्य डोल्मा तामाङ विशेष अतिथि रहनुभएको थियो।

कार्यक्रममा जिल्ला कमिटी उपाध्यक्ष अर्जुन भण्डारी, जिल्ला कमिटी सचिव कृष्णगोपाल तामाङसहित जिल्ला कमिटी सदस्यहरू, मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका र पाँचपोखरी थाङपाल गाउँपालिकाका अगुवा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको निर्वाचन परिचालन समिति सचिव कृष्णगोपाल तामाङले जानकारी दिनुभयो। भेलामा प्रमुख अतिथि हस्त पण्डितले पार्टीविरुद्ध फैलाइएका भ्रम चिर्दै देश जलाउने प्रवृत्तिलाई पराजित गरी देश निर्माण गर्ने शक्तिलाई विजयी गराउनु नै एमाले कार्यकर्ताको मुख्य कर्तव्य रहेको उल्लेख गर्नुभयो। उहाँले आगामी फागुन २१ गते हुने संघीय निर्वाचनमा एमालेका उम्मेदवार शेरबहादुर तामाङलाई विजयी गराउन संगठन मजबुत बनाएर लाग्न कार्यकर्ताहरूलाई निर्देशन दिनुभएको थियो। कार्यक्रममा सहभागी एमाले पाँचपोखरी थाङपाल गाउँपालिकाका सचिव सुशान बोम्जनका अनुसार भेलाले आगामी निर्वाचनका लागि कार्यकर्ताहरूमा थप उत्साह र सक्रियता थपेको छ।

१६ माघ २०८२, बिहीबार २१:२६