एमाले वागमतीमा नयाँ जिम्मेवारी बाँडफाँड: सिन्धुपाल्चोक इञ्चार्ज कर्माचार्य, प्रदेश सचिव देउजा

जनतापत्र, सिन्धुपाल्चोक ।
नेकपा एमालेले वागमती प्रदेश अन्तर्गत सिन्धुपाल्चोक जिल्ला कमिटीको इञ्चार्जको जिम्मेवारी केन्द्रीय सदस्य सुवास कर्माचार्यलाई दिएको छ। पार्टीको सचिवालय बैठकले आगामी निर्वाचनसम्मका लागि जिल्लास्तरको संगठनात्मक कामको संयोजन गर्न इञ्चार्ज तोक्ने निर्णयअनुसार कर्माचार्यलाई जिम्मेवारी दिइएको हो।

सिन्धुपाल्चोकमा देखिएको गुटगत राजनीतिलाई एकताबद्ध बनाउँदै संगठनलाई सुदृढ गर्ने अवसर कर्माचार्यका लागि रहेको पार्टी नेताहरूको भनाइ छ।

यसैबीच, बालकृष्ण देउजाले नेकपा एमाले वागमती प्रदेश कमिटीको सचिवको जिम्मेवारी प्राप्त गर्नुभएको छ। पार्टी संगठनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित देउजालाई सचिवको जिम्मेवारी दिइएको जनाइएको छ।

एमालेले वागमती प्रदेशमा उपत्यकाका तीन जिल्ला बाहेक अन्य १० जिल्लामा चुनाव केन्द्रित संगठनात्मक कामलाई प्रभावकारी बनाउन जिल्लागत इञ्चार्ज तोकेको छ। यसअघि नै सचिवालय बैठकले वागमती प्रदेश इञ्चार्जको जिम्मेवारी सचिव महेश बस्नेतलाई दिइसकेको छ।

एमालेले संगठन सुदृढीकरण र चुनावी तयारीलाई तीव्र बनाउन जिल्लागत इञ्चार्जमार्फत समन्वय गर्ने जनाएको छ।

यी हुन् वागमती प्रदेश अन्तर्गत जिल्ला संयोजन गर्ने एमालेका इञ्चार्जहरू :
सिन्धुली – प्रदीप कटुवाल
रामेछाप – माधव ढुङ्गेल
काभ्रेपलाञ्चोक – अशोक ब्याञ्जु
सिन्धुपाल्चोक – सुवास कर्माचार्य
धादिङ – भूमि त्रिपाठी
दोलखा – पार्बत गुरुङ
नुवाकोट – केशब पाण्डे
रसुवा – प्रेम तामाङ
मकवानपुर – रामेश्वर राना
चितवन – देवी ज्ञवाली

पार्टी नेतृत्वले तोकिएका इञ्चार्ज तथा प्रदेश कमिटी पदाधिकारीमार्फत जिल्लागत संगठनलाई चलायमान बनाउँदै आगामी निर्वाचनमा बलियो उपस्थिति जनाउने अपेक्षा गरेको छ।

२३ पुष २०८२, बुधबार ०८:२२