एमाले महाधिवेशन : सिन्धुपाल्चोकका तीन नेताको बढ्दो दाबी, आन्तरिक शक्ति समीकरण तातियो

जनतापत्र, सिन्धुपाल्चोक ।

नेकपा एमालेको ११औँ महाधिवेशन नजिकिँदै जाँदा सिन्धुपाल्चोकमा रहेका प्रभावशाली तीन नेताहरूको दाबीले पार्टीको आन्तरिक शक्ति समीकरण चर्किँदै गएको छ। स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ, पूर्व पोलिटब्युरो सदस्य अरुण नेपाल र पाँचपोखरी थाङ्पाल गाउँपालिका अध्यक्ष टासी लामाले विभिन्न पदमा उम्मेदवारी घोषणा गर्दै जिल्लाको राजनीतिक माहोल तातेकाे छ।

शेरबहादुर तामाङको उपमहासचिव दाबी

अध्यक्ष केपी शर्मा ओलीका निकट मानिएका तामाङले यसपटक महाधिवेशनमा उपमहासचिव पदका लागि आफू सक्षम प्रत्याशी हुने स्पष्ट बताएका छन्। आफ्ना विश्वस्त र कार्यकर्ताहरूलाई पठाएको सन्देशमा उनले ओली नेतृत्वलाई साथ दिने र उपमहासचिवमा आफूले “सशक्त दाबी” प्रस्तुत गर्ने उल्लेख गरेका छन्।

पछिल्ला वर्षमा तामाङ पार्टीभित्र सक्रिय, संगठित र निर्विवाद नेताको रूपमा स्थापित भएका छन्। विभागीय नेतृत्व, संगठन विस्तार र भौतिक संरचना निर्माणमा उनले देखाएको भूमिकाले उनलाई उच्च पदमा सहज दाबी गर्न सक्षम बनाएको भन्दै समर्थकहरूले व्याख्या गरेका छन्। महाधिवेशन नजिकिँदै जाँदा तामाङको दाबीले ओली पक्षको आन्तरिक समीकरणमा पनि नयाँ चहल–पहल देखिएको छ।

अरुण नेपाललाई सचिव बनाउन अभियान

सिन्धुपाल्चोककै अर्का प्रभावशाली नेता अरुण नेपाललाई यसपटक सचिव पदमा पुर्‍याउन स्थानीयदेखि केन्द्रसम्मका कार्यकर्ता जोडतोडले लागेका छन्। विद्यार्थी संगठन हुँदै पार्टीको उच्च तहमा पुगेका नेपाल दुई कार्यकाल पोलिटब्युरो सदस्य भइसकेका छन्।

तर, लोकप्रियता र राजनीतिक योगदान हुँदाहुँदै पनि उनलाई लामो समयदेखि सीमित भूमिकामै राखिएको भन्दै कार्यकर्ताबीच असन्तुष्टि बढ्दै आएको थियो। कतिपयले उनका समकक्ष वा कनिष्ठ नेताहरू स्थायी कमिटीमा पुगेको तर नेपाल भने पटक–पटक पोलिटब्युरोमै रोकिएको गुनासो उठाउँदै आएका छन्।

यही बुझाइले गर्दा जिल्लाका धेरै कार्यकर्ताले “न्यायसंगत मूल्यांकन” को नाममा नेपाललाई सचिव पदमा पुर्‍याउन विशेष अभियान नै सञ्चालन गरिरहेका छन्। महाधिवेशन प्रतिनिधिदेखि केन्द्रका केही प्रभावशाली नेतासम्म नेपालतर्फ खुलेर समर्थन गरिएको बताइन्छ।

टासी लामाको केन्द्रीय सदस्यतर्फको यात्रा

सिन्धुपाल्चोककै पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष टासी लामा पनि यसपटक केन्द्रीय सदस्य बन्न तयारी अवस्थामा छन्। दुई कार्यकाल गाउँपालिकामा विजयी हुँदै आएका लामा स्थानीय तहमा अत्यन्त लोकप्रिय र सक्रिय नेतृत्व मानिन्छन्।

महाधिवेशन प्रतिनिधि छनोट प्रक्रियामै बढी मत पाएका लामालाई संगठनका धेरै तहबाटै सकारात्मक संकेत मिल्दै गएको एमाले जिल्ला कमिटीका एक सदस्यले बताएका छन्। अल्पसंख्यक ह्योल्मो समुदायको पहिचान, लामो समयदेखिको विद्यार्थी–राजनीतिक संघर्ष तथा जुझारु छविलाई आधार बनाएर उनलाई केन्द्रमा पुर्‍याउन अभियान चलाइएको छ।

स्थानीयका अनुसार टासी लामाको आकर्षक नेतृत्व क्षमता, कार्यशैली र जनसम्पर्कका कारण उनी जिल्ला राजनीति भन्दा बाहिर पनि चिरपरिचित बन्दै गइरहेका छन्। यही कारण, जिल्ला स्तरीय नेताहरू पनि सामूहिक रूपमा उनलाई केन्द्रमा पठाउन इच्छुक देखिएका छन्।

आन्तरिक समीकरण तातिदैँ

तीनै नेताको बढ्दो दाबी र तिनलाई मिलिरहेको समर्थनले एमालेको आगामी महाधिवेशनमा सिन्धुपाल्चोकको भूमिका एकदमै निर्णायक बन्ने संकेत गरेको छ।

तामाङ, नेपाल र लामालाई विभिन्न तहका समूहबाट समर्थन बढ्दै गएपछि जिल्ला मात्र होइन, केन्द्रमा समेत शक्ति–सन्तुलनको नयाँ रूपरेखा बन्दाे देखिएको छ। कसले कुन पद पाउने भन्ने अन्तिम टुंगो महाधिवेशनले लगाउने भए पनि, अहिले नै जिल्लाभित्र तीव्र राजनीतिक सक्रियता देखिन थालेको छ।

२१ मंसिर २०८२, शनिबार ०८:०५