एमाले महाधिवेशनको तयारीमा सूर्यविनायक–५ : घरदैलो अभियानले उत्साह बढायो

जनतापत्र, भक्तपुर ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आसन्न एघारौँ महाधिवेशन नजिकिदैँ जाँदा देशभर पार्टी गतिविधि सक्रिय बन्न थालेका छन्। त्यही क्रममा सूर्यविनायक नगरपालिका–५ मा पनि महाधिवेशनको उद्घाटन समारोहमा व्यापक सहभागिता सुनिश्चित गर्न घरदैलो अभियान सुरु गरिएको छ। बुधबारदेखि वडास्थरका पदाधिकारी र कार्यकर्ताहरू घरघरमा पुगेर निमन्त्रणा बाँड्दै कार्यक्रमबारे जनचेतना फैलाइरहेका छन्।

घरदैलो टोलीमा वडा अध्यक्ष राजकुमार जोशीसहित पार्टी वडा अध्यक्ष सुरेश अछामी, वडा सदस्यहरू मनोज थापा, वासुदेव पोखरेल, कमला पोखरेल र गीता विसुँखे गरी विभिन्न तहका नेता–कार्यकर्ताको सहभागिता रहेको छ। उनीहरूले वडाका विभिन्न टोलमा पुगेर नागरिकसँग प्रत्यक्ष संवाद गरिरहेका छन्। अभियानमा प्रदेश सदस्य दीपक विसुँखे र केन्द्रीय सदस्य निर्मल भट्टराईको उपस्थिति पनि देखिएको छ।

Oplus_16908288

वडाअध्यक्ष जोशीका अनुसार पार्टी महाधिवेशन केवल राजनीतिक कार्यक्रम मात्र नभई स्थानीय स्तरमा एकता र सहभागिताको उत्सव पनि हो। “हामी वडाको प्रत्येक घरमा पुगेर महाधिवेशनमा उपस्थितिको आग्रह गरिरहेका छौँ। कार्यक्रम हाम्रो घरआँगन नजिकै हुँदैछ, त्यसैले प्रत्येक वडावासीलाई सहभागिता जनाउन अनुरोध गरेका छौँ,” उनले बताए।

उनको भनाइअनुसार, बुधबार वडाको पूर्व–दक्षिण क्षेत्रका बस्तीहरूमा निमन्त्रणा कार्ड र कार्यक्रमसम्बन्धी सामग्री वितरण गरिएको र बिहीबारदेखि भैरवस्थान क्षेत्र हुँदै उत्तर–पश्चिम क्षेत्रमा अभियान निरन्तर जारी रहनेछ।

घरदैलो क्रममा एमाले कार्यकर्ताहरूले पार्टीको झण्डा, ब्यानर र स्वागत कार्डसहित नागरिकलाई महाधिवेशनको महत्व र विषयवस्तुबारे जानकारी दिइरहेका छन्। नेता–कार्यकर्ताको सक्रियताले वडामा राजनीतिक माहोलमा नयाँ ऊर्जा थपिएको स्थानीयले बताएका छन्।

यसबीच, नागरिकहरूले पनि पार्टी अभियानलाई सकारात्मक रूपले लिएका छन्। घरदैलोमा भेटिएका धेरैले पार्टी नेतृत्वमा चासो राख्दै उद्घाटन समारोहमा सहभागिता जनाउने बताएका छन्। केहीले यसलाई स्थानीय क्षेत्रमा भव्य कार्यक्रम आयोजना हुने अवसरका रूपमा पनि हेरेका छन्।

मंसिर २७ गते भक्तपुर नगरपालिका–१ मा पर्ने सल्लाघारीस्थित ठूलो चौरमा एघारौँ महाधिवेशनको उद्घाटन समारोह आयोजना हुँदैछ। त्यसको पूर्वतयारीमा स्थानीय संरचना र स्वयंसेवक परिचालन, आवास–व्यवस्थापन, यातायात नियोजन लगायतका काम तीव्र गतिमा अघि बढाइएको पार्टीले जनाएको छ।

सूर्यविनायक क्षेत्र एमाले अध्यक्ष केपी शर्मा ओलीको वर्तमान निवास क्षेत्र भएकाले यस पटकको महाधिवेशन त्यहाँका स्थानीयका लागि झनै महत्व राख्छ। आफ्नै घर नजिकै राष्ट्रिय स्तरको ठूलो राजनीतिक कार्यक्रम हुने भएपछि स्थानीय नेता–कार्यकर्तासँगै सर्वसाधारणमा पनि अपार उत्साह देखिएको छ।

महाधिवेशनमा देशभरका प्रतिनिधि, पर्यवेक्षक र विभिन्न अतिथिहरूको उपस्थितिमार्फत पार्टीको भावी नेतृत्व चयनसँगै संगठनिक समीक्षा, नीतिगत दिशानिर्देश र राजनीतिक मार्गचित्र तय हुने अपेक्षा गरिएको छ।

सूर्यविनायक–५ मा चलिरहेको घरदैलो अभियानले पार्टीको संगठनिक क्षमताको प्रदर्शन मात्र नभई नागरिकसँग प्रत्यक्ष संवाद र विश्वास निर्माणमा सकारात्मक भूमिका खेलेको देखिएको छ। स्थानीयस्तरमा सक्रियता बढ्दै गएकोले उद्घाटन समारोहमा ठूलो भीड रहने अनुमान गरिएको छ।

२५ मंसिर २०८२, बुधबार २०:१७