एमालेले गरेको कामको प्रचार गर्न कार्यकर्तालाई सचिव अर्यालको निर्देशन

जनतापत्र, सिन्धुपाल्चोक ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सचिव पद्मा अर्यालले एमाले सरकारमा हुँदा गरेका राम्रो कामको प्रचार गर्न कार्यकर्ताहरूलाई आग्रह गर्नुभयो । मेलम्ची नगर कमिटीको दोस्रो अधिवेशनमा शुक्रबार सम्बोधन गर्दै पूर्वमन्त्री समेत रहनुभएका अर्यालले सरकारले धेरै राम्रो काम गरेको तर प्रचार नभएको भन्दै सवै कार्यकर्तालाई कामको प्रचार गर्न निर्देशन दिनुभएको हो ।
अर्यालले छोटो समयमा सरकार परिवर्तन हुने गर्दा जनतामा चरम निराशा भएकाले जनतामा विश्वास दिलाउने र स्थिर सरकार निर्माण र राजनीतिक स्थायित्वको लागी नयाँ समीकरण बनेको बताउनु भयो ।


कार्यक्रममा स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले सङ्गठन बलियो बनाउन सवै तह र तप्काको कार्यकर्ता जागरूक हुनुपर्ने बताउनुभयो । इमान्दार र जुजारु कार्यकर्ता भएमा मात्र पार्टी बलियो हुने बताउनुभयो । सिन्धुपाल्चोक जिल्लालाई बलियो बनाउन सवै कार्यकर्ताको भावनामा एकमत हुनपर्ने धारणा राख्नुभयो ।

सो कार्यक्रममा केन्द्रिय सदस्यहरु सरेस नेपाल, सुवास कर्माचार्य, केन्द्रिय अनुशासन आयोग सचिवालय सदस्य डम्बर अर्याललगायतले मन्तव्य राख्नुभएको थियो ।

४ माघ २०८१, शुक्रबार १२:५२