एचआइभीरएड्स सम्बन्धी लान्छना तथा भेदभाव न्यूनीकरणका लागि अभिमुखीकरण

जनतापत्र,सिन्धुपाल्चोक ।
हेलम्बु गाउँपालिका–६ मा एचआइभीरएड्ससम्बन्धी लान्छना तथा भेदभाव न्यूनीकरण गर्ने उद्देश्यले अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा जनप्रतिनिधि, सरोकारवाला निकाय, प्रहरी, पत्रकार, एचआइभी संक्रमित व्यक्ति तथा मुख्य जोखिम समूहहरूको सहभागिता रहेको थियो। जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजना तथा हेलम्बु गाउँपालिका र लाइफ भर्सेस एडिक्सनको समन्वयमा कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रममा हेलम्बु गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मुकेश भट्टराईले समाजमा एचआइभीरएड्सबारे रहेका गलत धारणा, लान्छना र विभेद हटाउनु अत्यावश्यक रहेको उल्लेख गर्नुभयो। उहाँले संक्रमित व्यक्तिहरूप्रति सम्मानजनक व्यवहार र उनीहरूको अधिकार संरक्षणका लागि सबै पक्षको साझा प्रयास आवश्यक रहेको बताउनुभयो। कार्यक्रममा इचोक आधारभूत स्वास्थ्य चौकीका प्रमुख बिदुर जोतिले एचआइभी संक्रमणको वर्तमान अवस्था, जोखिम समूह, रोकथामका उपाय तथा उपचारसम्बन्धी जानकारी प्रस्तुत गर्नुभयो। उहाँले समयमै परीक्षण र उपचारमा पहुँच विस्तार गर्न सके संक्रमण नियन्त्रण गर्न सकिने धारणा राख्नुभयो।

वडा नं। ६ का अध्यक्ष सन्चबहादुर तामाङले समाजमा अझै पनि एचआइभीरएड्सप्रति विभेदपूर्ण सोच कायम रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले जनचेतना अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले स्थानीय तहले जनचेतनामूलक कार्यक्रमलाई प्राथमिकता दिने र संक्रमित व्यक्तिहरूलाई आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, अब संक्रमितहरूले औषधि लिन चौतारा पुग्नुपर्ने बाध्यताको अन्त्य गर्ने जानकारी दिनुभयो। उहाँले इचोक क्षेत्रमा एचआइभी संक्रमितको संख्या तुलनात्मक रूपमा उच्च रहेको जनाउँदै प्रभावित व्यक्तिहरूलाई संगठित रूपमा अघि बढ्न सुझाव दिनुभयो। गाउँपालिकाको स्वास्थ्य शाखा, जनस्वास्थ्य कार्यालय तथा विभिन्न संघसंस्थासँग समन्वय गरी सीपमूलक तालिम तथा आयआर्जनका कार्यक्रम सञ्चालन गर्न वडा तयार रहेको उहाँले बताउनुभयो। कार्यक्रममा सहभागीहरूले एचआइभीरएड्ससम्बन्धी लान्छना र भेदभाव हटाउन सामूहिक पहल आवश्यक रहेकोमा जोड दिएका थिए।

२७ चैत्र २०८२, शुक्रबार १९:०९