एआईको अनियन्त्रित प्रयोगले ल्याउन सक्ने उथल–पुथल

एआईको मद्दतले सजिलै फेक भिडियो र तस्बिर निर्माण गर्न सकिन्छ अर्थात् डिपफेक सामग्री बनाउने काम बढेको छ । यसले गलत जानकारी फैलिन सक्छ । एआईको आगमनपछि फेक जानकारी बढेको छ र यसले मानिसहरूलाई भ्रमित पारिरहेको छ ।

शकुन्तला आचार्य
हालै आएको एउटा समाचारअनुसार दक्षिण कोरियाली प्राविधिक उत्पादन समूह (सामसङ) ले एआईका चिप्स उत्पादनका लागि आगामी ५ वर्षमा ३ खर्ब १० अर्ब अमेरिकी डलर लगानी गर्ने योजना सार्वजनिक गरेको छ । एआईको विश्वव्यापी बढ्दो मागलाई पूरा गर्ने लक्ष्यसाथ आएको ज्यादै ठुलो आर्थिक लगानी हो यो । सामसङ इलेक्ट्रोनिक्स विश्वको शीर्ष मेमोरी–चिप निर्माताहरू मध्ये एक हो ।

यसले एआई उद्योगमा निर्भर पूर्वाधारका लागि महत्वपूर्ण चिप्स आपूर्ति गर्दै आएको छ । एआईको बढ्दो प्रयोगले मानव जातिको भविष्य के हुने हो ? भन्ने प्रश्न उब्जेकै बेला दक्षिण कोरियाले मारेको यो फड्कोले विश्वलाई थप तरंगित बनाएको छ । किनकि संयुक्त राष्ट्रसंघले विश्वभरका लगभग आधा रोजगारी प्रभावित हुनसक्ने चेतावनी दिँदै कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स–एआई) को विश्वव्यापी बजार सन् २०३३ सम्ममा ४८ खर्ब डलर पुग्ने अनुमान गरेको छ ।

एआईले अर्थतन्त्रहरू परिवर्तन गर्दै र विशाल अवसरहरू सिर्जना गर्दै गए तापनि विद्यमान असमानतालाई गहिरो बनाउने जोखिम पनि रहेको राष्ट्रसंघीय व्यापार र विकास एजेन्सी अंकटाड –युएनसिटिएडी) ले एक प्रतिवेदनमा चेतावनी दिएको छ । प्रतिवेदनले एआईले उत्पादकत्व वृद्धि गरे पनि विश्वभरका ४० प्रतिशत रोजगारीमा प्रभाव पार्न सक्ने चेतावनी दिएको छ ।

पहिलेका प्रविधि लहरले मुख्यतः ‘म्यानुअल’ रोजगारीहरूमा प्रभाव पारेको थियो तर एआईले ज्ञानका गहन क्षेत्रहरूमा समेत प्रभाव पार्न थालेको छ । अंकटाडले भनेको छ, ‘एआई सञ्चालित स्वचालनका फाइदाहरूले प्रायः श्रमभन्दा पुँजीलाई समर्थन गर्दछ, जसले मानिसबीचको आर्थिक असमानतालाई अझ फराकिलो बनाउन सक्छ । विकासोन्मुख अर्थव्यवस्थाहरूमा कम लागतको श्रमको प्रतिस्पर्धात्मक फाइदालाई कम गर्न सक्छ ।’

एजेन्सी प्रमुख रेबेका ग्रिन्स्पानद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘एआई विकासको केन्द्रमा मानिसहरू छन् भन्ने सुनिश्चित गर्ने महत्वमा जोड दिनुपर्ने बेला आएको छ, प्रविधिबाट मानिसहरूमा ध्यान केन्द्रित गर्न, देशहरूलाई विश्वव्यापी एआई ढाँचा सहसिर्जना गर्न सक्षम बनाउन बलियो अन्तर्राष्ट्रिय सहयोगको खाँचो छ ।’ उनको यो भनाइको अर्थ हो, ‘प्रविधिगत प्रगतिले आर्थिक वृद्धि गर्दा पनि, यसले आफैँमा समान आय वितरण वा समावेशी मानव विकासलाई प्रवद्र्धन गर्दैन भन्ने इतिहासले देखाएको छ ।’

प्रतिवेदनअनुसार सन् २०२३ मा इन्टरनेट, ब्लकचेन, ५–जी, ३–डी प्रिन्टिङ र एआईले २५ खर्ब डलरको बजार प्रतिनिधित्व गरेका थिए । यो आँकडा अर्को दशकमा ६ गुणा बढेर १६४ खर्ब डलर पुग्ने अपेक्षा गरिएको छ । साथै सन् २०३३ सम्ममा एआई यस क्षेत्रमा अग्रणी प्रविधि हुनेछ, जसको अनुमानित मूल्य ४८ खर्ब डलर हुनेछ ।

तर अंकटाडले हाल केबल १०० कम्पनीले मुख्यतः अमेरिका र चीनमा विश्वव्यापी कर्पोरेट अनुसन्धान र विकास खर्चको ४० प्रतिशत हिस्सा ओगटेका छन् भन्दै एआई पूर्वाधार र विशेषज्ञतामा पहुँच केबल केही अर्थतन्त्रमा केन्द्रित रहेको चेतावनी दिएको छ । त्यसैले एआईका क्षमताहरू, जोखिमहरू र अवसरहरूबारे कुरा गर्नुअघि, एउटा कुरा प्रष्ट बुझ्न जरुरी छ । एआई वास्तवमै के हो र कहिले सुरु भयो ?

आजको जस्तो शक्तिशाली एआई त नयाँ हो, तर यसको जराहरू त्यति नयाँ होइनन् । आर्टिफिसियल इन्टेलिजेन्स अर्थात कृत्रिम बौद्धिकता भन्ने शब्द पहिलोपटक सन् १९५६ मा अमेरिकाको डार्टमाउथ कन्फ्रेन्समा प्रयोग गरियो । त्यही वर्षलाई एआईको जन्मवर्ष मानिन्छ ।

त्यसपछि सन् १९८० मा न्युरल नेटवर्क, सन् २०१० मा डिप लर्निङ सन् २०२२ पछि च्याट जिपिटीजस्ता मोडेल आएपछि एआई विश्व नै बदल्ने शक्ति बनेको छ । तर, एआईको इतिहास बुझ्दा र अहिले एआईले गरेको चमत्कार देख्दा भविष्यमा के होला ? कतै मान्छेको उपदेयिता त सकिने होइन ? भन्ने प्रश्न हरेकको मनमा उठ्नु स्वभाविकै हो ।

आजकल कलाकार पनि एआई, गायक पनि एआई, शिक्षक पनि डाक्टर पनि एआई, गृहणीको काम पनि एआई, सबैको काम एआइले गर्न थालेको छ । अब त सबै एआईले नै गर्छ भने मान्छेको भूमिका कहाँ रह्यो ? यही प्रश्न अहिले धेरै मानिसको मनमा बसिरहेको छ, र यसको उत्तर खोज्नु आवश्यक छ ।

आज हामी यस्तो समयबाट गुज्रिरहेका छौँ जहाँ चित्रकला, गीत–संगीत, कविता, कथा, चिकित्सकको सल्लाह, ज्योतिषको गणना, शिक्षकको व्याख्या, सबै क्षेत्रमा एआईको छाया फैलिएको छ । मोबाइल खोलेपछि एआईबाट बनेका तस्बिर, गीत, आवाज, कथा–कविता—सबैको बाढी नै छ । यसले धेरैलाई उत्साहित बनाएको छ, तर धेरैलाई डर पनि बनाएको छ ।

अब त पढेको मान्छेलाई नै काम नपर्ने हो कि ? सबै काम एआईले गरिदियो भने हाम्रो भविष्य के ? तर, यति धेरै क्षेत्रमा एआई फैलिए पनि एउटा स्थान छ जहाँ एआई अझै ‘राजा’ बन्न सक्दैन जस्तै कृषि । कृषिमा एआई किन कमजोर छ त ? भन्ने प्रश्न विचारणीय छ । एआईले मौसमको अनुमान गर्न सक्छ । ड्रोनमार्फत रोग–किरा पत्ता लगाउन सक्छ । मल र औषधिको मात्रा कति चाहिन्छ भनेर सुझाउन सक्छ ।

सिँचाइको स्मार्ट प्रणाली चलाउन सक्छ । तर, माटोको गन्ध समेट्ने, बोटको हेरचाह गर्ने, धान रोपेर पानीमा खुट्टा डुबाउने, मौसमसँग लड्ने लगायतका जीवनको अनुभव एआईले नक्कल गर्न सक्दैन । डिजिटल चित्रले मन त भरिन सक्छ, तर डिजिटल धानको फोटो हेरेर पेट भरिँदैन । यही कारणले कृषि हरेक देशको आधार हो, र यसमा मानिसको हात नै चाहिन्छ ।

कलाकार र गायकका रोजीरोटीको प्रश्न निकै पेचिलो बनेको छ । हो, एआईले कलाकार, लेखक, गायकहरूसँग ठुलो प्रतिस्पर्धा बनाइरहेको छ । तर एउटा कुरा स्पष्ट छ, एआईले चित्र बनाउन सक्छ, तर मान्छेको पीडा, खुसी, प्रेम, याद लगायतका भावना महसुस गरेर बनाएको कला छैन । कलाकारको ब्रसमा आत्मा हुन्छ, गायकको स्वरमा जीवन हुन्छ । एआईमा ती दुवै छैन, मात्र ‘डाटा’ छ ।

यसैले एआईले चुनौती त दिन्छ, तर मानवीय मौलिकता, भावना र मौलिक आवाज कहिल्यै नक्कल गर्न सक्दैन । त्यसैले एआईले भविष्य बदल्छ, तर मान्छेलाई मेटाउँदैन कसैले भन्छ, संसार फेरि ढुंगे युगमा फर्किंदै छ । तर यथार्थ के हो भने संसार नयाँ युगमा प्रवेश गर्दै छ । किनकि एआईले मानिसको काम होइन, कामको तरिका बदल्दै छ । मानिसले एआईसँग प्रतिस्पर्धा होइन, सहकार्य गर्न सिक्नुपर्छ ।

उदाहरणका लागि कृषिमा एआई सहयोगी बन्छ, स्वामी होइन । चिकित्सा क्षेत्रमा सहायक बन्छ, डाक्टर होइन । शिक्षामा टुल बन्छ, शिक्षक होइन । हामीले बुझ्नुपर्ने अर्को कुरा के हो भने एआईको डर होइन, एआईको दुरुपयोग भविष्यको चिन्ता हो । तर प्रकृति, भूमि, अन्न कहिल्यै डिजिटल होइन । यी सदैव मानिसकै हात, पसिना र अनुभवबाट जन्मिन्छन् । त्यसैले, एआई आए पनि मानिसको भूमिका हराउनै सक्दैन । भूमिका बदलिन्छ, मानिस हराउँदैन ।

जोखिम र खतरा

जहाँ मेसिनहरू सोच्न थाल्छन् त्यो बेला मानव सभ्यता संकटमा पर्न थाल्छ । यदि एआईलाई सोच्ने क्षमता दिइयो र त्यो आफैँ विकसित हुन थाल्यो भने मानिसको नियन्त्रणबाट बाहिर जान सक्छ । एआईका कारण रोजगारी बजार प्रभावित हुनेछ । मेसिन र रोबोटहरू मानिसभन्दा सस्तो र छिटो काम गर्न सक्छन् । यसले धेरै क्षेत्रमा मानिसहरू बेरोजगार हुन सक्ने अवस्था सिर्जना गर्न सक्छ ।

सफ्टवेयर इन्जिनियरिङ, ग्राफिक डिजाइन र भ्वाइस ओभरजस्ता काम गर्नेहरूका ठाउँमा एआई सजिलैले प्रवेश गर्न सक्छ । एआईले हाम्रो प्राइभेसीमा पनि खतरा पु¥याउन सक्छ । एआईले हामीबारे यति धेरै जानकारी संकलन गर्न सक्छ । हामीलाई थाहा पनि नहुन सक्छ कुन–कति जानकारीसम्म एआई पुगिसक्यो ।

अफिसदेखि सडकसम्म एआईले मानिसहरूलाई निगरानी गर्न सक्छ । एआई चलाउन ठुलो मात्रामा बिजुली चाहिन्छ । त्यसका लागि ठुला डेटा सेन्टरहरू निर्माण भइरहेका छन् । यी डेटा सेन्टरहरूले धेरै बिजुली प्रयोग गर्छन् र वायुमा हानिकारक ग्यास पनि निक्कै मात्रामा छोड्न सक्छन् ।

एआईको प्रयोग हतियार निर्माणमा पनि भइरहेको छ । यसले अत्याधुनिक हतियारहरू बनाउन सक्दछ र ती गलत हातमा परे भने ठुलो नोक्सान हुन सक्छ । एआईको मद्दतले सजिलै फेक भिडियो र तस्बिर निर्माण गर्न सकिन्छ अर्थात् डिपफेक सामग्री बनाउने काम बढेको छ । यसले गलत जानकारी फैलिन सक्छ । एआईको आगमनपछि फेक जानकारी बढेको छ र यसले मानिसहरूलाई भ्रमित पारिरहेको छ ।

एआई भनेको रोजगारी प्रतिस्थापन गर्ने मात्र होइन, प्रविधिले ‘नयाँ उद्योगहरू सिर्जना गर्न र कामदारहरूलाई सशक्त बनाउन सक्छ । पुनः कौशल, उच्च सीप र कार्यबल अनुकूलनमा लगानी गर्न र एआईले रोजगारीका अवसरहरू बढाउँछ भनेर सुनिश्चित गर्न आवश्यक छ ।

(आचार्य शिक्षक हुन् ) (सौर्य अनलाइनबाट साभार)

६ मंसिर २०८२, शुक्रबार ११:३५