/*php the_title();*/?>

टिका सुवेदी । सिन्धुपाल्चोक –
अरनिको यातायात सेवा समिति तथा अन्य समिति द्वारा सञ्चालित विद्युतीय (EV) सार्वजनिक सवारी साधनले यात्रुहरूबाट मनपरी भाडा असुल्ने गरेको गुनासो तीव्र बन्दै गएको छ। सोही सन्दर्भमा एक जनप्रतिनिधि स्वयं ठगीको सिकार बनेका छन ।
नारायणटारदेखि चौतारा चल्ने एक इभी गाडीमा जडिबुटीबाट चढेर साँगाचोकसम्म यात्रा गरेका चौतारा सागाचोक गढी नपा. वडा नम्बर १२ का वडा अध्यक्ष दिपेन्द्र नेपालले भाडा तिर्दा रु.५०० दिँदा रु.१०० मात्र फिर्ता आएको गुनासो गरेका छन्। जब उनले चौतारा सम्मको भाडा नकटाउन आग्रह गरे, चालकले समितिको भाडा यही हो भन्दै गाडी अघि बढाएको जनाइएको छ।
“मैले स्पष्ट रूपमा सिट खाली देखेर बीच बाटोबाट चढेको हुँ, तर गन्तव्यभन्दा बढी भाडा काटियो। चौतारासम्मको भाडा असुलिनु ठगी नै हो,” पीडित नेपालले भने।

स्थानीयहरूका अनुसार यस्तो घटना नयाँ होइन। धेरै यात्रुहरू, विशेषतः बीच बाटोबाट चढ्नेहरू, नियमित रूपमा ठगिने गरेका छन्। “तपाईं आजमात्र ठगिनुभयो, हामी त सँधै ठगिँदै आएका छौं,” यात्रुहरूले भनेको नेपालले बताए।
सार्वजनिक सवारीमा यस्तो मनपरी प्रवृत्ति बढ्दै जाँदा यात्रुहरूमा आक्रोश बढ्दै गएको छ। कम इन्धन खर्चमा सञ्चालन हुने इभी गाडीहरूले अत्यधिक भाडा असुल्नु, त्यो पनि निश्चित दूरीको हिसाब नगरी मनपरी रूपमा, सार्वजनिक यातायातको नाममा चलाइएको शोषण हो भन्ने आवाज उठ्न थालेको छ।
यस विषयमा सम्बन्धित निकायहरू—जस्तै जिल्ला प्रशासन कार्यालय, यातायात व्यवस्था विभाग तथा समिति स्वयं—लाई ध्यानाकर्षण गराउने तयारी भइरहेको बुझिएको छ ।

२९ चैत्र २०८१, शनिबार ०६:२१