इन्द्रावती गाउँपालिका–८ को गहते शाखा सडकमा कालोपत्रे सुरु

आइसिँ तामाङ, इन्द्रावती सिन्धुपाल्चोक
सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका–८ अन्तर्गत पर्ने गहते शाखा सडकमा कालोपत्रे कार्य सुरु गरिएको छ। विकासलाई प्राथमिकता दिँदै अघि बढिरहेको गाउँपालिकाले चालु आर्थिक वर्षभित्र मुख्य सडकहरूमा कालोपत्रे सम्पन्न गर्ने योजना अनुसार सो सडकमा काम सुरु गरिएको हो।
सडक कालोपत्रे आयोजनाको उद्घाटन इन्द्रावती गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। कार्यक्रमका क्रममा अध्यक्ष नेपालले विकासलाई काममै देखाउने अभियानमा आफूहरू अग्रसर रहेको बताउनु भएको छ ।
इन्द्रावती गाउँपालिकाले आफ्नै योजना र बागमती प्रदेश सरकारको समन्वयमा प्रमुख सडकहरूलाई कालोपत्रे गर्दै स्तरोन्नति गर्ने कार्यलाई तीव्रता दिएको छ। कालोपत्रेपछि गहते शाखा सडक वर्षा र हिउँद दुवै मौसममा सवारीका लागि सहज हुने विश्वास लिइएको छ।
सडक स्तरोन्नति भएपछि स्थानीय जनजीवन, व्यापारिक गतिविधि र सामाजिक सेवा प्रवाहमा समेत सकारात्मक प्रभाव पर्ने स्थानीय बासिन्दाहरूले बताएका छन्। विकासको गतिप्रति सन्तोष व्यक्त गर्दै अझ प्रभावकारी कार्यान्वयनको अपेक्षा पनि राखेका छन्।

१६ असार २०८२, सोमबार १४:४२