इन्द्रावती गाउँपालिकाविरुद्धको कु प्रचारप्रति एमालेको विरोध


जनतापत्र, सिन्धुपाल्चोक,

इन्द्रावती गाउँपालिकाको नेतृत्व र नेकपा (एमाले) विरुद्ध केही अनलाइन मिडिया तथा सामाजिक सञ्जालमार्फत भ्रामक र लाञ्छनापूर्ण समाचार सम्प्रेषण भएको भन्दै नेकपा (एमाले) इन्द्रावती गाउँपालिका कमिटीले प्रेस विज्ञप्ति जारी गर्दै ती प्रचारप्रति घोर आपत्ति जनाएको छ।

कमिटी अध्यक्ष डबले लामाले हस्ताक्षर गरेको प्रेस विज्ञप्तिमा पार्टीको नेतृत्वलाई कमजोर पार्न नियोजित रूपमा गरिएको यस्तो प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ। विज्ञप्तिमा भनिएको छ, “इन्द्रावती गाउँपालिकाको तर्फबाट नागरिकलाई प्रवाह गरिने सेवा, सुविधा र अधिकारप्रति हामी सधैं सचेत छौं। पालिकाको नेतृत्वले कुनैपनि गैरजिम्मेवार काम गरेको छैन।”

पार्टीले गाउँपालिकाको विकास, समृद्धि र रूपान्तरणमा प्रतिबद्ध रहेको भन्दै यस्ता प्रचारको गलत उद्देश्य र कुत्सित मनसाय भएको आरोप लगाएको छ। यस्तै भ्रामक सूचनाका आधारमा नागरिकलाई गुमराहमा पार्न खोजिएको भन्दै पार्टीले यस्ता कार्यहरूको विरोधमा संस्थागत रूपमा एकताबद्ध भई अघि बढ्ने जनाएको छ।

विज्ञप्तिमा सम्पूर्ण इन्द्रावतीबासीलाई यस्ता भ्रामक प्रचारको प्रभावमा नपर्न र सत्य तथ्य पहिचान गर्न आग्रह गरिएको छ। साथै गाउँपालिका नेतृत्वविरुद्ध भएको आरोपको खण्डन गर्दै एमाले कमिटीले यस प्रकारको कु प्रचारको निन्दा, भर्त्सना र आपत्ति प्रकट गरेको छ।

२३ बैशाख २०८२, मंगलवार १९:३९