इन्द्रावती गाउँपालिकामाथि लागेको घोटालाको आरोप असार्गिक: दुष्प्रचार भएको दाबी

जनतापत्र,सिन्धुपाल्चोक ।
इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालमाथि उपभोक्ता समिति मार्फत ४३ लाख ४२ हजार रुपैयाँ अनियमितता गरिएको भनी आएको समाचार पूर्ण रूपमा निराधार, तथ्यविहीन र योजनाबद्ध दुष्प्रचार भएको गाउँपालिकाले स्पष्ट गरेको छ। गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर–५ का अध्यक्ष शशिनाथ आचार्यले बिना प्रमाण, बिना अध्ययन र बिना जिम्मेवारी समाचार प्रकाशन गर्नु पत्रकारिताको मर्मविपरीत भएको बताउँदै कडा आपत्ति जनाउनुभयो। उहाँका अनुसार, समाचारको शीर्षक गम्भीर भए पनि भित्री विवरणमा त्यसको पुष्टि हुने कुनै तथ्य प्रस्तुत गरिएको छैन।

“शीर्षक एकातिर, तथ्य अर्कातिर राखेर जनतालाई भ्रममा पार्ने प्रयास गरिएको छ,” आचार्यले भन्नुभयो, “यसरी जनप्रतिनिधिको छवि धुमिल्याउने काम जिम्मेवार सञ्चारको घोर उल्लंघन हो।” आचार्यका अनुसार गाउँपालिकाले राज्यका नीति, कानुन, कार्यविधि र मापदण्डअनुसार काम गर्ने भएकोले स्रोत–साधनको दुरुपयोग भएको दाबी पूर्ण रूपमा गलत छ। महालेखा परीक्षणका सुझावलाई गम्भीरतापूर्वक कार्यान्वयन गर्दै आएको इन्द्रावती गाउँपालिका अघिल्लो आर्थिक वर्षमा सिन्धुपाल्चोक जिल्लामै सबैभन्दा कम बेरुजु भएको पालिका बनेको उल्लेखसहित उनले पारदर्शिता र सुशासनलाई प्राथमिकता दिइएको बताए। स्वास्थ्य, शिक्षा, कर्मचारी व्यवस्थापन र उपभोक्ता समितिसम्बन्धी विषयलाई तोडमोड गरी प्रस्तुत गरिएको भन्दै आचार्यले भ्रामक प्रचारप्रति आम नागरिक सतर्क रहन आग्रह गर्नुभयो। साथै, प्रमाणविना लगाइने गम्भीर आरोपका विरुद्ध आवश्यक परे कानुनी कदम चाल्न गाउँपालिका पछि नहट्ने चेतावनी पनि दिनुभयो।

५ माघ २०८२, आईतवार १०:५१