/*php the_title();*/?>

जनतापत्र, सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाको नवौं गाउँसभा अधिवेशन नवलपुरस्थित सभा हलमा सम्पन्न भएको छ। अधिवेशनले इन्द्रावती गाउँपालिकालाई नगरपालिका बनाउने प्रस्ताव पारित गरेको गाउँपालिकाले जनाएको छ।
अधिवेशनको शून्य समयमा शिक्षा, सडक, सिँचाइ, खानेपानी, जग्गा वर्गीकरण लगायतका विषयमा गाउँसभा सदस्यहरूले प्रश्न, सुझाव तथा जिज्ञासा राखेका थिए। उठेका विषयमा सभाका सचिव तथा प्रमुख प्रशासकीय अधिकृत मनहरि बरालले स्पष्टीकरण प्रदान गरेका थिए। अधिवेशनमा उपाध्यक्ष शोभना तामाङले आर्थिक वर्ष २०८२र०८३ का लागि संशोधित बजेट प्रस्तुत गरिन्। त्यस्तै प्रवक्ता शशिनाथ आचार्यले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक २०८२ प्रस्तुत गरे।

विधेयक समिति संयोजक तथा वडा नं। ९ का अध्यक्ष बाबुराम लामाले केही स्थानीय ऐन संशोधनका विधेयक टेबल गरे। सामाजिक विकास समिति संयोजक तथा वडा नं। ७ का अध्यक्ष रबिन्द्र कुमार खातीले बेरुजु फर्स्यौट कार्यविधि २०८२ प्रस्तुत गरे भने लेखा समिति संयोजक तथा वडा नं। १० का अध्यक्ष रामचन्द्र घिमिरेले लेखा समिति गठन तथा कार्यालय सञ्चालन कार्यविधि २०८२ पेश गरे। प्रमुख प्रशासकीय अधिकृत बरालले आर्थिक ऐन संशोधनसम्बन्धी विधेयक पनि प्रस्तुत गरे। न्याय समिति सदस्य तथा वडा नं। ४ का अध्यक्ष क्षेत्रबहादुर तामाङले इन्द्रावतीलाई नगरपालिका बनाउन आवश्यक मापदण्ड पूरा भइसकेकाले प्रस्ताव निर्णायक रूपमा पेश गरिएको जानकारी गराए।

अधिवेशनले प्रस्ताव पारित गरेको छ। अन्त्यमा प्रस्तुत विषयहरूबारे छलफल हुँदै राय–सुझाव संकलन गरिएको थियो। सभाध्यक्ष झम्कनाथ नेपालका अनुसार लिखित रूपमा पनि सुझाव दिने व्यवस्था गरिएको छ।
अधिवेशनको अवसरमा नेपाल आइडल सिजन–६ की विजेता तथा इन्द्रावती–१० की गंगा सोनाम, ७७ वटै जिल्ला साइकल यात्रामार्फत भ्रमण पूरा गरेका मादव कुइँकेल र दीपेन्द्र सोनामलाई गाउँपालिकाले सम्मान गरेको छ। कार्यक्रमका दौरान गंगा सोनामले सांगीतिक प्रस्तुति दिएकी थिइन्।
२५ पुष २०८२, शुक्रबार २१:११