/*php the_title();*/?>

जनतापत्र, सिन्धुपाल्चोक ।
इन्द्रावती गाउँपालिकामा लामो समय देखि रहेको विवाद रूपान्तरण भएको छ । सोही पालिकाको कालिका सामुदायिक वनको आर्थिक गतिविधि र सिमाना सम्बन्धी विवादमा विकल्प पारितको संयुक्त बैठक सम्पन्न भएको छ । सो सँगै द्वन्द्वरत पक्षमा सहमति हुँदै विवाद टुङ्गिएको हो । द्वन्द्व रूपान्तरण प्रकृया अनुसार माकुरा समुहले विवादलाई समाधान गर्न सहजिकरण गेरको थियो । जस कारण १५ वर्ष देखि कार्यसमिति र उपभोक्ताबीच चलेको विवाद मिलेको हो ।
सो विकल्प पारितको संयुक्त बैठकमा आफ्नो भनाई राख्दै प्रमुख अतिथि तथा इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालले यो समस्या ग्रस्त अवस्थामा रहेको सामुदायिक वनलाई निकास दिँदै एउटा प्रतिस्पर्धी सामुदायिक वन उपभोक्ता समूहको रुपमा अगाडि बढाउनुपर्छ भन्ने मान्यता र दृष्टिकोणको आधारमा अधि बढ्न सुझाव दिएका छन् ।
गाउँपालिकामा झण्डै पाँच दर्जन सामुदायिक वन उपभोक्ता समूहहरू रहेको बताउँदै आगामी दिनमा यो पाँच दर्जन सामुदायिक वन उपभोक्ता समूहहरु मध्ये एउटा उत्कृष्ट सामुदायिक वन उपभोक्ता समूहको रुपमा स्थापित गर्ने गरी काम गर्ने विश्वास व्यक्त गरे । बन ऐन २०७४ ले पनि सामुदायिक वन निजी वनका सन्दर्भमा स्थानीय सरकारलाई जिम्मेवारी र दायित्व सुम्पेको बताउँदै स्थानीय सरकारले पाएको जिम्मेवारी र दायित्वलाई इन्द्रावती गाउँपालिकामा कुशलतापूर्वक निर्वाह गर्ने बताए । अध्यक्ष नेपालले वनलाई व्यवस्थीत गर्ने योजनाका साथ अगाडि बढिरहेको बताउँदै आगामी दिनमा गाउँपालिका भित्रका सबै सामुदायिक वन उपभोक्ता समूहका अध्यक्षहरूको हामी भेला राखी समस्याहरु लाई सङ्कलन गरी समाधान गर्नको निमित्त हामीले के भूमिका निर्वाह गर्नुपर्छ त्यो भूमिका निर्वाह गर्नको निमित्त पनि हामी तयार र तत्पर रहेको प्रतिबद्धता व्यक्त गरे । उनले यस वनको विवादमा सहजिकरण गरिरहेको प्राकृतिक श्रोत द्वन्द्व रूपान्तरण केन्द्र नेपालले गरेको सहजिकरण प्रति उच्च प्रशंसा गर्दै भने अन्य वनमा पनि विवाद छन् यो संस्थाले सहजिकरण गर्न पर्दछ ।

गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक शोभना तामाङले विगतमा यही वनमा वनमा घाँस दाउरा गर्दाको क्षण स्मरण गर्दै हरियो वन नेपालको धन भन्ने कुरालाई यथार्थमा परिणत गर्न विवाद गरेर होइन मिलेर अगाडि बढ्न पर्ने बताइन । उनीले अब बन्ने समितिले वनका गतिविधिलाई निष्पक्ष र पारदर्शी रुपमा संचालन गर्नपर्ने बताइन् ।
इन्द्रावती गाउँपालिकाका प्रवक्ता तथा वडा नं ५ का अध्यक्ष शशीनाथ आचार्यले लामो समयपछि यस वनले संस्थागत गतिविधिको नियमितता पाएको बताउँदै यसले खुसी लागेको बताए । साथै यस संयुक्त बैठकले पारित गरेको हरेक सहमतिलाई व्यवहारमा उतार्न पनि आग्रह गरे । गाउँपालिका भरि ५७ सामुदायिक वन उपभोक्ता समूह रहेको र वन हरुले अब आय आर्जनसँग जोड्ने काम गर्नुपर्ने बताउँदै वनमा जडीबुटी, बिरुवा, फलफूल खेती गरेर उद्यम व्यवसाय गर्न सकिने बताए ।
न्यायिक समिति सदस्य तथा इन्द्रावती गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष क्षेत्र बहादुर तामाङले पालिकामा रहेका निष्क्रिय वनहरूलाई चलायमान बनाउन वन कार्यालयसँग समन्वय गरी आर्थिक उन्नतिको पाटोसँग जोड्न सहजीकरण गर्नुपर्नेमा जोड दिए । उनले यहाँको विवाद रुपान्तरण भएकोमा संस्थालाई धन्यवाद दिएका थिए ।

इन्द्रावती गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष इन्द्रबहादुर तामाङले वनको लामो समय देखिको बिबाद समाधान हुनु यो एउटा ऐतिहासिक सफलता रहेको बताउँदै माकुरा समुहको अथक प्रयासले यो समस्या समाधान गर्न सफल भएको र निकास पाएको बताए । अबको दिनमा वनले सेवा सुविधा र उपभोक्तामा टेवा पुग्ने हिसाबले काम गर्ने विश्वास व्यक्त गरे । वडा नम्बर ९ का अध्यक्ष बाबुराम लामाले गाउँपालिका भरिकै नमुना बन हुने गरी कार्य गर्न सुझाव दिए ।
त्यस्तै प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र, नेपालले संचालन गरेको बहुसरोकार द्वन्द्व रूपान्तरण अभियान अन्तर्गत कालिका सामुदायिक वन उपभोक्ता समुहको आर्थिक गतिविधि तथा सिमाना सम्बन्धी द्वन्द्व रुपान्तरणको क्रममा माकुरा समुहको क्षमता विकास तथा नेतृत्व हस्तान्तरण तालिममा सहभागी र त्यस पश्चात माकुरा समुहमा सहजिकरण गरेकाहरुलाई प्रमाण–पत्र प्रदान गरिएको छ ।

त्यस्तै बन समुहका आर्थिक गतिवधि तथा सिमाना सम्बन्धी द्वन्द्व रुपान्तरणका लागी बुँदागत सहमती पत्र तयार गरी हस्ताक्षर समेत गरिएको छ ।
सहमती पत्रमा निम्न बुँदाहरु समेटिका छन् ः
कालिका सामुदायिक वन उपभोक्ता समुहको विगत देखि हाल सम्मको सम्पुर्ण गतिविधि उपभोक्ताहरुलाई जानकारी गराई प्रत्यक टोल टोलमा आर्थिक विवरण टाँस गरी सम्पूर्ण उपभोक्ताहरु लाई जानकारी गराउने ।
लामो समय देखि हुन नसकेको साधारण सभा मिति २०८१ भदौं २७ गते हुने विकल्प पारितको संयुक्त वैठककै दिन वन समुहको साधारण सभा तथा अधिवेशन गर्ने ।
कालिका सामुदायिक वन उपभोक्ता समुहको विधान तथा कार्ययोजना सबै उपभोक्ताहरुलाई जानकारी गराउन नयाँ वन्ने कार्यसमितिले प्रत्येक टोलमा सचेतना कार्यक्रम मिति २०८१ मंसिर मसन्ता भित्र संचालन गर्ने ।
कालिका सामुदायिक वन उपभोक्ता समुहको आर्थिक तथा कार्यालयका गतिविधि संचालन गर्दा नगदी रसिद, अनुमतिपत्र, परिचयपत्रहरुको अनिवार्य व्यवस्था गरी प्रयोगमा ल्याउने र आवश्यकता अनुसार श्रेस्ता राखि अभिलेखीकरण गर्ने ।
कालिका सामुदायिक वन उपभोक्ता समुहको कार्ययोजना अनुसार वनको संरक्षण, सम्वद्धन र व्यवस्थापन गर्दै सामुदायिक वनको सिमाना एकिन गर्ने । सिमाना एकिन गर्न ५ सदस्यीय सत्य,तथ्य आयोग गठन गरी गाउँपालिका,वडा कार्यालय र वन कार्यलयको सहयोग लिई मिति २०८१ माघ मसन्ता भित्र सिमाना एकिन गरिसक्ने ।
सिमाना एकिन गर्दा नापि नक्शाका आधारमा गरीने छ ।
उपभोक्ताहरुले वन समुहमा वुझाउन पर्ने बार्षिक शुल्क आर्थिक वर्ष २०८०।८१ देखि मात्र बुझाउने ,आफुले बुझाउनु पर्ने शुल्क मिति २०८१ मंसिर मसन्ता भित्र सबैले बुझउने ।
विगतमा भएका गतिवीधिको समिक्षा गर्दै अगमी दिनमा एक अर्का प्रति सम्मानपुर्वक व्यवहार गर्दै सकरात्मक ढंगबाट अगाडि बढ्ने ।
मा एक अर्का प्रति सम्मानपुर्वक व्यवहार गर्दै सकरात्मक ढंगबाट अगाडि बढ्ने ।
माथी उल्लेखित बुदाँहरु निर्धारित समय सिमा भित्र कार्यन्वयन गर्न गराउन हामी सबै पक्षले इमान्दारिताका साथ लागी पर्ने छौं, अन्यथा भएमा यसै सहमती पत्रका आधारमा कानुनि कार्वाहि भएमा मञ्जुरी छौं ।

विकल्प पारितको संयुक्त बैठक पश्चात भएको अधिवेशनले नयाँ कार्यसमिति पनि चयन गरेको छ । डीपबहादुर तामाङको अध्यक्षतामा ९ सदस्यिय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा संचमाया तामाङ, सचिवमा बलबहादुर तामाङ, कोषाध्यक्षमा सम्झना श्रेष्ठ, सदस्यहरूमा फुलमाया तामाङ, रामबहादुर सार्की, मैया बोगटी, मिना तामाङ र रामजी श्रेष्ठ रहेका छन् । कार्यक्रममा समितीका तत्कालिन सचिव असोक तामाङले बनको आर्थिक गतिबिधी प्रस्तुत गरेका थिए ।
सो कार्यक्रममा इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपाल, उपाध्यक्ष शोभना तामाङ, प्रवक्ता तथा वडा नम्बर ५ का अध्यक्ष शशीनाथ आचार्य, वडा नम्बर ६ का अध्यक्ष इन्द्रबहादुर तामाङ, वडा नम्बर ४ का अध्यक्ष क्षेत्रबहादुर तामाङ, वडा नम्बर ८ का अध्यक्ष दिलबहादुर श्रेष्ठ,वडा नम्बर ९ का अध्यक्ष बाबुराम लामा, अध्यक्षका राजनितिक सल्लहाकार डाल बहादुर सापकोटा, कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू, निर्वाचित जनप्रतिनिधिहरू, इलाका बन कार्यलय नवलपुरका प्रतिनिधी, प्राकृतिक स्रोत द्वन्द रूपान्तरण केन्द्र नेपालका स्रोत व्यक्ति नेत्र धिताल र सहजकर्ता टिका सुवेदी,विदुर गिरी लगायत माकुरा समूहका सदस्यहरू बन उपभोक्ताहरु लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।
बन उपभोक्ताहरु र कार्यसमिती बिचको करिब दुई दशक लामो विवाद सुल्झाउँदै वनले नयाँ कार्यसमिति पनि चयन गरेको छ । वन उपभोक्ता समिति र कार्यसमिति बीचको विवादलाई टुङ्ग्याउँदै कार्यक्रमले ऐतिहासिक सफलता हाँसिल गरेको वन उपभोक्ता कार्यसमितिका निवर्तमान अध्यक्ष सुजित तामाङले बताएका छन् ।
२७ भाद्र २०८१, बिहीबार १४:०६